तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जाको अल्पकालीन सेवा केन्द्र: हिंसापीडित महिलाका लागि सुरक्षित आश्रय बन्दै

स्याङ्जा । स्याङ्जामा सञ्चालनमा रहेको अल्पकालीन सेवा केन्द्र हिंसापीडित महिलाका लागि सुरक्षित आश्रयस्थलका रूपमा प्रभावकारी बन्दै गएको छ । घरेलु हिंसा, लैङ्गिक दुर्व्यवहार, पारिवारिक विवाद तथा बेवारिसे अवस्थामा रहेका महिलालाई तत्काल उद्धार, संरक्षण र पुनःस्थापना सेवा दिइँदै आएको केन्द्रले पछिल्लो समय धेरै पीडितलाई सहारा दिएको छ ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिकाको संयोजन र जिल्लाका ११ वटै स्थानीय तहको सहकार्यमा केन्द्र सञ्चालन गरिरहेको छ । केन्द्रमा हिंसापीडित महिलालाई ३० देखि ४० दिनसम्म सुरक्षित रूपमा राख्ने व्यवस्था छ । यस अवधिमा निःशुल्क खाना, बसोबास, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श र कानुनी सहायता उपलब्ध गराइन्छ ।

अवस्था गम्भीर भएका वा थप संरक्षण आवश्यक पर्ने महिलालाई पछि पोखरास्थित दीर्घकालीन पुनःस्थापना केन्द्रमा पठाउने व्यवस्था गरिएको छ । पछिल्लो आर्थिक वर्षमा मात्रै २२ जनाले सेवा लिएका छन् । तीमध्ये धेरैजसो बलात्कार र जबरजस्तीकरणी जस्ता लैङ्गिक हिंसाका पीडित छन् भने केही पारिवारिक हिंसा र बेवारिसे अवस्थामा भेटिएका महिला छन् ।

पुतलीबजार नगरपालिकाकी उपप्रमुख तथा सेवा केन्द्र संयोजक देवी अर्यालका अनुसार केन्द्रले पीडित महिलालाई सुरक्षित आश्रयसँगै मनोबल पुनःस्थापना र न्यायका लागि सहयोग गर्दै आएको छ ।

सरोकारवालाका अनुसार सेवा केन्द्र प्रभावकारी भए पनि यसको जानकारी अझै धेरै महिलासम्म पुग्न सकेको छैन । त्यसैले स्थानीय तहले जनचेतनामूलक कार्यक्रम विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button