बाँदर आतङ्कबाट किसानहरु पीडित हुनुपरेकोबारे सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले देशभर विभिन्न जिल्लामा किसानहरु बाँदर तथा वन्यजन्तुबाट पीडित हुनुपरेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले देशका विभिन्न स्थानमा किसानले लगाएको कृषि तथा अन्नबालीमा बाँदरको आतङ्कले किसानहरु पीडित हुनुपरेको भन्दै समस्या समाधानका लागि यथाशक्य उचित कार्ययोजना ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै सुकुम्वासी परिवारलाई आधारभूत आवासको व्यवस्था नगरी घरबारविहीन बनाइएको भन्दै सांसदहरुले चाँडो भन्दा चाँडो कानुनतः सुकुम्वासी परिवारको गाँस, बास र रोजगारको व्यवस्था गर्न माग गर्नुभयो ।
यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति अनुदार हुनुभएको भन्दै सांसदहरुले प्रधानमन्त्रीको यो कदम लोकतन्त्र र संविधानप्रतिको अवज्ञा भएको बताउनुभयो ।
सांसदहरुले प्रधानमन्त्री शाह सदनमा उपस्थित नहुने तथा जवाफ नदिने कार्यशैलीले सरकार विधिको शासनको बाटोमा हिँड्ने सङ्केत नगरेको भन्दै यसप्रति सांसद तथा मन्त्रिपरिषद् संवेदनशील बन्नुपर्ने पनि सुझाव राख्नुभयो ।
यस्तै सांसदहरुले पेट्रोलियम पदार्थ तथा उपभोग्य वस्तुमा मगही तथा मूल्य वृद्धि नियन्त्रण गर्न, नीजि स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम स्थगित नगर्न र विगत ४५ दिनदेखि विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरू धर्नामा बसिरहेकोमा सम्बन्धित निकाय तथा सरकारले चासो नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले सीमानाकामा लागूपदार्थ ओसारपसार, तस्करी, चोरी डकैती जस्ता गतिविधि बढेको भन्दै सुरक्षा व्यवस्था र अनुगमन प्रणालीको संयन्त्रमा कढाइ गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा अहिले सांसदहरुले दलीय आधारमा बोल्ने क्रम जारी छ ।
राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सभासमक्ष पेश गर्नुहुने र वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्