उच्च अदालत विराटनगर धनकुटा इजलास ७५ प्रतिशत मुद्दा फर्छ्यौट
धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले चालु आर्थिक वर्ष २०८२/०८३ मा २ सय ४६ थान मुद्दा फर्छ्यौट गरेको छ । अदालतले शुक्रबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर २०८२ साउनदेखि २०८३ जेठ ७ गतेसम्म ३ सय २५ थान मुद्दामध्ये २ सय ४६ थान फर्छ्यौट गरेको जनाएको हो ।

अदालतमा जिम्मेवारी सरेको ३५ र नयाँ दर्ता २ सय ९० गरी ३ सय २५ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ । अदालतमा करिब एक वर्षको अवधिमा ७५ दशमलव ६९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो । अदालतमा एक वर्षभन्दा पुराना मुद्दा नरहेको र ६ महिना कटेका ४ थान मुद्दा रहेको कार्यक्रममा जानकारी दिइयो । अदालतमा सरकारवादी फौजदारी मुद्दा अन्तरगत जबरजस्ती करणी, ज्यान मार्ने उद्योग तथा सम्बन्ध विच्छेदमा मुद्दा बढी दर्ता भएको अदालतका मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले जानकारी दिनुभयो ।
यता उच्च अदालत विराटनगर इजलास मातहतका ४ जिल्ला अदालतले पनि गत आर्थिक वर्षमा उल्लेख्य रूपमा मुद्दा फर्छ्यौट गरेका छन् । जसअनुसार धनकुटा जिल्ला अदालतले ७५ दशमलव ४७, तेह्रथुम जिल्ला अदालतले ६९ दशमलव ०६, भोजपुर जिल्ला अदालतले ४९ दशमलव ६६ र सङ्खुवासभा जिल्ला अदालतले ४२ दशमलव २१ प्रतिशत मुद्दा फर्छ्यौट गरेका छन् ।
धनकुटा जिल्ला अदालतले ६ सय ८१ मा ५ सय १४, तेह्रथुम जिल्ला अदालतले ३ सय ३३ मा २ सय ३०, भोजपुर जिल्ला अदालतले ४ सय ४५ मा २ सय २१ र सङ्खुवासभा जिल्ला अदालतले ५ सय ५८ मा ३ सय २३ थान मुद्दा फर्छ्यौट गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्