उद्यम र लगानीमैत्री वातावरणमार्फत अर्थतन्त्र सुदृढ बनाइँदै: अर्थमन्त्री
काठमाडौँ । अर्थ मन्त्री स्वर्णिम वाग्लेले उत्पादनमुखी क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिएमा सकारात्मक आर्थिक वृद्धि हुने बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा सम्बन्धी छलफलमा अर्थ मन्त्री वाग्लेले उद्यममैत्री, निजी क्षेत्रमैत्री र लगानीमैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयास भइरहेको बताउनुभयो ।
बैठकमा अर्थ मन्त्री वाग्लेले लैङ्गिक उत्तरदायी बजेटमार्फत सार्वजनिक खर्चमा लैङ्गिक सचेतना र संवेदनशीलता सुनिश्चित गर्दै बजेटलाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अर्थ मन्त्री वाग्लेले सिँचाइ, ट्रान्समिसन लाइन, खानेपानी जस्ता निरन्तर सञ्चालनमा रहेका आयोजनाहरूलाई प्राथमिकतामा राखी करिब ६० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेका आयोजनाहरूलाई पर्याप्त रकम विनियोजन गरी यसै वर्षभित्र सम्पन्न गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
बैठकमा सांसदहरूले शिक्षा, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा लगानी वृद्धि गर्दै सरकारी सेवाको गुणस्तर सुधार र स्वास्थ्य सेवा तथा बीमा प्रणाली सुदृढ गर्नुपर्ने बताउनुभयो ।
यस्तै सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरू समय सीमा भित्र चाडै सम्पन्न गर्नुपर्ने बताउनुहुँदै अनुदान तथा सहारामुखी अर्थतन्त्रको अन्त्य गरी लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बैठकमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले पूँजीगत खर्चको आवश्यकतालाई आधार मानी विभिन्न मन्त्रालयहरूमा बजेट विनियोजन तय गरिएको र स्रोतको सुनिश्चित गरी आन्तरिक तथा वैदेशिक ऋणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्