बाजुरा–हुम्ला सीमा विवाद: रानीसैन क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिने
बाजुरा ।बाजुरा–हुम्ला सीमा विवाद चर्किएपछि रानीसैन तथा साइपाल बेसक्याम्प जाने पर्यटकको सुरक्षाका लागि लाम्पाटा क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुरामा बिहीबार बसेको सर्वपक्षीय बैठकले हिमाली गाउँपालिका–३ लाम्पाटा–च्याचौर क्षेत्रमा स्थायी रूपमा सुरक्षा उपस्थिति बढाउने निर्णय गरेको हो।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल नेतृत्वको टोलीमाथि हुम्लाका स्थानीयले आक्रमण गरी फिर्ता पठाएको घटनापछि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीका अनुसार बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयलाई पत्राचार गर्ने, लाम्पाटा क्षेत्रमा बाक्लो सुरक्षा फौज तैनाथ गर्ने तथा रोकिएको प्रहरी चौकी निर्माणको काम पुनः सुरु गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
सहायक प्रजिअ पुडासैनीका अनुसार रानीसैन जाने पर्यटक र स्थानीय नागरिकको सुरक्षाका लागि आवश्यक परे टेन्टमै बसेर पनि सुरक्षाकर्मी परिचालन गरिनेछ।
लाम्पाटा क्षेत्रलाई लिएर बाजुरा र हुम्लाका स्थानीयबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण कार्य अगाडी बढाए पछि विवाद झन् चर्किएको थियो।अब प्रदेश सरकारमार्फत चौकी निर्माणका लागि आवश्यक सहयोग र सहकार्य गर्न गृह मन्त्रालयसँग अनुरोध गर्ने निर्णय समेत गरिएको छ।
सीमा विवादसँगै उत्पन्न असुरक्षाका कारण चर्चित पर्यटकीय गन्तव्य रानीसैनको यात्रा प्रभावित बन्न थालेपछि प्रशासनले सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्