तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको पालडी गाउँमा खानेपानी पुगेपछि स्थानीयबासी खुशी

बैतडी । गाउँमा खानेपानी पुगेपछि बैतडीको पञ्चेश्वर गाउँपालिका–१ को पालडी र लेकगाउँका स्थानीयबासिन्दा खुशी भएका छन् ।

बर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयहरूको घर–आँगनमै खानेपानीका धारामा पानी आउन थालेपछि उनीहरू खुशी भएका हुन् । तीन घण्टको पैदल दुरीबाट खानेपानीको जोहो गर्दै आएका स्थानीयहरू अचेल निकै खुशी देखिएका छन् । यी दुई गाउँको बस्तीमा पानीको मूल नजिक नहुँदा ३ घण्टा उकालो र ओरालो हिँडेर जर्किनमा पानी ल्याउनुपर्ने बाध्यता थियो । उनीहरू झरीको पानी प्लास्टिकको ड्रम, पोखरीमा जम्मा गरेर पनि पानीको जोहो गर्ने गर्दथे । 

फिनल्यान्ड÷युरोपियन युनियनको ८० लाख ३९ हजार ६ सय ५७ र पञ्चेश्वर गाउँपालिकाको ३६ लाख १४ हजार ५ सय ३१, नेपाल सरकारको १४ लाख ४५ हजार ८ सय १२ गरी १ करोड ३१ लाख रुपैयाँमा करिब २ हजार १ सय ४९ मिटर टाढाबाट पाइपमार्फत पानी ल्याएको पताललेक पालडी धुरा सोलार लिफ्ट खानेपानी योजनाका अध्यक्ष गोरख सार्कीले बताउनुभयो । 

बस्तीमा अहिले १ सय २ धारा जडान गरिएका छन् । धारामा चौबीसै घण्टा पानी आउँदा घर आँगनमै स्थानीयले पानी भर्न पाएका छन् । गाउँमा खानेपानी आएपछि दुखका दिन सकिएको जस्तो अनुभव भएको स्थानीय भाना सार्कीले बताउनुभयो । 

पानीको अभावमा स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या भइरहेका बेला खानेपानी पुगेपछि निकै सहज भएको पञ्चेश्वर स्वास्थ्य चौकीका प्रमुख सुरेश सार्कीले बताउनुभयो । स्वास्थ्यचौकीमा बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यताको अब अन्त्य भएको उहाँले सुनाउनुभयो । 

पालडी र लेकगाउँमा ९८ घरधुरी, एक विद्यालय, एक स्वास्थ्यचौकी, सहकारी र वडा कार्यालय छन् । खानेपानी आयोजनाले स्थानीयलाई धेरै सुविधा पुर्‍याएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो। पानीको मूल नभएर पालडी, लेक गाउँमा खानेपानी व्यवस्थापन गर्न गाह्रो भएको र लिफ्ट खानेपानीले गर्दा सहज भएको उहाँको भनाइ छ ।

अहिले प्रत्येक स्थानीयको आँगनमा खानेपानीको धारा पुगेको छ । प्रत्येक धारामा मिटर जडान गरिएको छ । गाउँपालिकाका अन्य धेरै ठाउँमा पानीका मूल सुकेर समस्या आएको र पानीका नयाँ मूल खोजेर योजना मर्मतसँगै नयाँ योजना निर्माण चरणमा रहेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो। 

पालडी र लेकगाउँमा खानेपानी पुगेपछि योजना उद्घाटनका दिन स्थानीयहरूले बाजागाजा बजाइ खुसीयाली मनाएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button