तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा–हुम्ला सिमाना विवाद: घाइते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा। बाजुरा र हुम्लाको सिमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयलाई लिएर दुई जिल्लाका स्थानीयबीच भएको विवाद हिंसात्मक बनेपछि ६ जना घाइते मध्ये ४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ ।


हिमाली गाउँपालिका–३ लाम्पाटामा हुम्लाका स्थानीयको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताउनुभयो ।


झडपका क्रममा प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा पनि घाइते हुनुभएको थियो ।


हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथ गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्र लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने निर्णयपछि विवाद सुरु भएको थियो । स्थानीयका अनुसार चौकी निर्माणका लागि टोली पुगेपछि हुम्लाका स्थानीयले कवाडी खोला भन्दा वारिपट्टि आएर संरचना बनाउन खोजिएको” भन्दै अवरोध गरेपछि विवाद चर्किँदै जाँदा दुवै पक्षबीच झडप भएको थियो ।

घटनापछि सीमावर्ती क्षेत्रमा तनाव बढेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । हिमाली गाउँपालिकाका युवाहरुले एक बिज्ञप्ति जारी गर्दै बाजुरा बाट कर्णाली करिडोर हुँदै हुम्ला जाने यातायातका साधन चल्न नदिने घोषणा गरेका छन्।स्थानीय प्रशासनले सबैलाइ संयमता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button