रानिसैनमा सिमाना विवाद: बाजुरा र हुम्लाका स्थानीयबीच झडप ५ जना घाइते
बाजुरा। बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अपि–सैपाल हिमालको बेस क्याम्प रानिसैन भ्रमणमा पुगेको टोलीमाथि झडप भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोली हाम्रो ‘सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानको क्रममा भ्रमणमा पुगेका बेला स्थानीयबीच विवाद चर्किँदा हातपातसम्मको अवस्था सिर्जना भएको हो । झडपमा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुँवर तथा प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी रहनुभएको छ ।

प्रहरीका अनुसार वडा सदस्य पेमा गारा गुरुङको ढाड र गर्धनमा चोट लागेको छ भने उहाँकी श्रीमती लक्ष्मी गुरुङको गर्धनमा चोट लागेको छ । स्थानीय मिनु कुँवरको छाती र ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेश शाहीका अनुसार २०८३ जेठ ३ गते लाम्पाटास्थित अस्थायी प्रहरी चौकी निर्माण गर्ने स्थानलाई लिएर स्थानीयबीच निर्माण तथा सिमाना सम्बन्धी विवाद उत्पन्न भएको थियो । विवादका क्रममा स्थानीयले निर्माण सामग्री समेत फालिदिएछि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लमार्फत प्रहरी चौकी बिच्छियामा जानकारी पुगेको थियो ।त्यसपछि जेठ ४ गते अस्थायी प्रहरी पोस्ट कुवाडीबाट प्रहरी सहायक निरीक्षक चित्र बहादुर मल्लको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरीले जेठ ५ गते बिहान दुवै पक्षबीच छलफल तथा सम्झाइबुझाइ गरेपछि अवस्था सामान्य बनेको थियो ।
ड्रोन उडाएपछि बल्झियो विवाद
“हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ” अभियान अन्तर्गत भ्रमणमा रहेको मेयर गोपाल हमालसहित करिब ४० जनाको टोली पनि घटनास्थल पुगेको थियो । टोलीले ड्रोनमार्फत भिडियो खिच्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँका करिब २ सय ५० जना स्थानीय आक्रोशित बनेपछि विवाद चर्किएको प्रहरीले जनाएको छ । स्थानीय र भ्रमण टोलीबीच वादविवाद हुँदै हातपातको स्थिति सिर्जना भएपछि प्रहरी टोलीले हस्तक्षेप गरेको थियो ।
घटनापछि घाइतेहरूलाई सुरक्षित रूपमा फर्काइएको र हाल अवस्था नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्