मधेश प्रदेशमा एक्कै पटक १९ खेल शुरु
जनकपुरधाम । मधेश प्रदेशमा “खेली मधेश, जिती मधेश” भन्ने मूल नारासहित प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सोमवारबाट सुरु भएको छ ।
मधेश खेलकुद परिषद्को आयोजनामा प्रदेशभर खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ परिषद्ले सोमबारदेखि जनकपुरधामस्थित कभर्ड हलमा विभिन्न १९ विधामा खेल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिता अन्तर्गत भलिबल, फुटबल, टेबल टेनिस, खो–खो, ह्यान्डबल, तेक्वान्दो, बास्केटबल, जुडो, ब्याडमिन्टन, भारोत्तोलन, वृद्धिचाल, उसु, हक्की लगायतका १९ वटा खेल समावेश छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै परिषद्का सदस्य सचिव शिवजीप्रसाद कानुले प्रदेशमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउँदै युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।
प्रतियोगितामा प्रदेशका आठ वटै जिल्लाका खेल मैदान तथा कभर्ड हलमा सञ्चालन हुने जानकारी दिइयो ।
मधेश प्रदेशका पूर्व मन्त्री तथा मधेश प्रदेश भलिबल सङ्घका अध्यक्ष ज्ञानेन्द्र कुमार यादवले खेलाडीको हक अधिकार, सेवा सुविधा तथा उपयुक्त खेल वातावरण निर्माणका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।
प्रतियोगितामा मधेश प्रदेशका आठ वटै जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीको सहभागिता रहेको छ । परिषद्का अनुसार प्रत्येक जिल्लाबाट १६७ पुरुष खेलाडी, १०८ महिला खेलाडी, १८ प्रशिक्षक र १० व्यवस्थापक गरी ३०३ जना सहभागी छन् । १९ वटा खेलमा प्रदेशभरबाट कुल दुई हजार ४ सय ७२ खेलाडी सहभागी भएका छन् ।
परिषद्का अनुसार दुई करोड ५५ लाख रुपियाँ लागतमा सञ्चालन भएको प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार रुपियाँ, द्वितीय हुनेलाई १५ हजार रुपियाँ तथा तृतीय हुनेलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्