गुरुवामा व्यवस्थित “वैकुण्ठ धाम” निर्माण, विपन्न परिवारलाई अन्त्येष्टिमा राहत
बाँके। मानिसको जीवनको अन्तिम सत्य मृत्यु हो । मृत्यु पश्चात गरिने अन्त्येष्टि हिन्दु संस्कारको अत्यन्त पवित्र र संवेदनशील परम्परा मानिन्छ । यही धार्मिक तथा मानवीय संवेदनालाई केन्द्रमा राख्दै बाँकेको जानकी गाउँपालिका–५ गुरुवा गाउँमा व्यवस्थित हिन्दु शमशान घाट “वैकुण्ठ धाम” निर्माण गरिएको छ ।
वर्षौंदेखि अन्त्येष्टिका लागि उपयुक्त स्थान नहुँदा समस्या भोग्दै आएका स्थानीयले अब आफ्नै गाउँमा सम्मानपूर्वक अन्तिम संस्कार गर्न पाउने भएका छन् । स्थानीयवासीको पटक–पटकको मागपछि वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादवको पहलमा गाउँपालिकाले करिब १० लाख रुपैयाँ लागतमा १९ कठ्ठा क्षेत्रफलमा “वैकुण्ठ धाम” निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
स्थानीयवासीका अनुसार यसअघि गरिब तथा भूमिहीन परिवारले मृतकको अन्त्येष्टि गर्न निकै कठिनाइ र अपमान सहनुपर्थ्यो । कतिपय अवस्थामा जमिनधनीले आफ्नो जग्गामा दाहसंस्कार गर्न नदिँदा परिवार घरआँगनमै अन्त्येष्टि गर्न बाध्य हुने अवस्था रहेको उनीहरूको भनाइ छ ।
वडा अध्यक्ष यादवले “वैकुण्ठ धाम” निर्माणको काम चरणबद्ध रूपमा सम्पन्न गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा स्थानीयको सहभागितामा जग्गा सुनिश्चित गरी तारबार गरिएको थियो । त्यसपछि समरसेबल बोरिङ जडान, विद्युत पोल तथा तार विस्तार गरी आवश्यक विद्युतीकरण गरिएको उहाँले बताउनुभयो ।
तेस्रो चरणमा बोरिङ सुरक्षा, विद्युत मिटर जडान तथा मलामी आउने श्रद्धालुका लागि पानी भण्डारण र स्नानको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार “वैकुण्ठ धाम” जिल्ला प्रशासन कार्यालय र गाउँपालिकामा आधिकारिक रूपमा दर्ता भइसकेको छ ।
“शमशान घाट केवल दाहसंस्कार गर्ने स्थान मात्र होइन, यो मानव जीवनको अन्तिम विश्रामस्थल हो । त्यसैले यसलाई सम्मानजनक, स्वच्छ र व्यवस्थित बनाउन आवश्यक छ,” वडा अध्यक्ष यादवले भन्नुभयो ।
उहाँले धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई प्राथमिकता दिँदै मुस्लिम समुदायका लागि व्यवस्थित कब्रिस्तान निर्माणका लागि पनि बजेट विनियोजन गरिएको बताउनुभयो । “हामी सबै धर्म र समुदायको सम्मान गर्छौँ । हिन्दु समुदायका लागि वैकुण्ठ धाम जति आवश्यक छ, मुस्लिम समुदायका लागि व्यवस्थित कब्रिस्तान पनि त्यत्तिकै महत्वपूर्ण हो,” उहाँले भन्नुभयो ।
“वैकुण्ठ धाम” समितिका अध्यक्ष विमल कुमार बर्माले निर्माण कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले गाउँपालिका अध्यक्ष छब्बन खान, उपाध्यक्ष रामप्यारी यादव तथा वडा अध्यक्ष टिकानाथ यादवको विशेष योगदान रहेको उल्लेख गर्नुभयो ।
स्थानीय सनेही खटिकले “वैकुण्ठ धाम” निर्माणपछि वडा नम्बर ४ लगायत आसपासका विपन्न परिवारलाई अन्त्येष्टिमा सहजता भएको बताउनुभयो । “पहिले अन्त्येष्टिका लागि ठाउँ नपाएर धेरै दुःख पाइन्थ्यो । अहिले आफ्नै गाउँमा पवित्र वैकुण्ठ धाम बनेपछि सम्मानपूर्वक अन्तिम संस्कार गर्न सहज भएको छ,” उहाँले भन्नुभयो ।
स्थानीयवासीका अनुसार धार्मिक आस्था, सामाजिक एकता र मानवीय संवेदनालाई जोड्ने उद्देश्यले निर्माण गरिएको “वैकुण्ठ धाम” अहिले गुरुवा गाउँको गौरवपूर्ण पहिचान बन्दै गएको छ ।







प्रतिक्रिया राख्नुहोस्