बाजुरामा ‘द लास्ट माइल डिजिटल हेल्थ शिखर सम्मेलन–२०२६’ सञ्चालन हुँदै
बाजुरा। बाजुराका चार स्थानीय तहले संयुक्त रूपमा “द लास्ट माइल डिजिटल हेल्थ शिखर सम्मेलन–२०२६” आयोजना गर्ने भएका छन् ।

दुर्गम जिल्लाबाटै डिजिटल स्वास्थ्य रूपान्तरणको राष्ट्रिय बहस सुरु गर्ने उद्देश्यसहित बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका र त्रिवेणी नगरपालिकाको नेतृत्वमा सम्मेलन हुन लागेको हो । सम्मेलन बाजुराबाट सुरु भएर धनगढी हुँदै काठमाडौँसम्म सञ्चालन हुनेछ । तीन तहमा आयोजना हुने सम्मेलनले अन्तिम तहका समुदायको वास्तविक अवस्था, प्रदेश स्वास्थ्य प्रणाली, राष्ट्रिय नीति, विकास साझेदारी तथा डिजिटल स्वास्थ्यमा लगानीलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको छ ।
स्थानीय सरकारका अनुसार सम्मेलनको मुख्य उद्देश्य दुर्गम बस्तीका नागरिक, अग्र पङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय स्वास्थ्य संस्थाका अनुभवलाई राष्ट्रिय नीति निर्माणसँग जोड्नु हो । सम्मेलनमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य खबर फाउन्डेसन, स्मार्ट हेल्थ ग्लोबल लगायत संस्थाको सहकार्य रहने जनाइएको छ ।
सम्मेलन तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणको जिल्ला स्तरीय सम्मेलन बाजुराको सदरमुकाम मार्तडीमा २०८३ असार १३ र १४ गते आयोजना हुनेछ । दोस्रो चरण प्रदेश स्तरीय सम्मेलन धनगढीमा २०८३ असार २० गते हुनेछ भने अन्तिम चरण राष्ट्रिय सम्मेलन काठमाडौँमा २०८३ साउन ३ गते आयोजना गरिनेछ ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का ले स्थानीय र प्रदेश स्तरमा प्राप्त अनुभव तथा प्रमाणलाई राष्ट्रिय नीति संवाद, साझेदारी र लगानीसँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो। नगर प्रमुख खड्काले यो सम्मेलन बाजुराका लागि मात्र नभई नेपालकै डिजिटल स्वास्थ्य अभियानका लागि ऐतिहासिक अवसर हुने हुँदा नीति निर्माता, विकास साझेदार, स्वास्थ्य विज्ञ तथा सरोकारवालालाई सम्मेलनमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
सम्मेलनले अन्तिम तहको स्वास्थ्य अवस्थालाई व्यवहारिक प्रमाण, प्रदेशस्तरीय प्रतिबद्धता, राष्ट्रिय नीति संवाद र लगानीयोग्य सिफारिसमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्