ग्रामीण क्षेत्रको विद्यालयमा पनि उल्लेख्य विद्यार्थी

दोलखा । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या घट्दै गए पनि दोलखाको देवपुरे थलीमा रहेको देउराली प्राथामिक विद्यालय (प्रावि) मा भने उल्लेख्य सङ्ख्यामा विद्यार्थी रहेका छन् ।
कक्षा ४ सम्म पढाई हुने देउराली प्राविमा एक सय दुई जना विद्यार्थी रहेको प्रधानाध्यापक रुपमाला पोत्रेलले बताउनुभयो ।
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ५ लापिलाङस्थित बन्देथली र देउपुरेथलीमा अधिकांश थामी समुदायको बसोबास रहेको छ । देउपुरेथलीमा रहेको देउराली प्राविमा एक जना खड्का थरको विद्यार्थी बाहेक बाँकी सबै थामी समुदायको विद्यार्थी अध्ययन गर्ने प्रधानाध्यापक रुपमाला पोत्रेलले बताउनुभयो ।

थामी समुदायका सबै विद्यार्थी लगनशील, मेहेनती र उत्कृष्ट रहेको प्रधानाध्यापक पोत्रेलको भनाई छ । देउराली प्रावि रहेको ठाउँबाट करिब पाँच सय मिटर तल बन्देथलीमा लापिलाङ माध्यामिक विद्यालय (मावि) पनि रहेको छ । देउराली प्राविमा शिक्षकहरूको मेहेनत र अभिभावकको सहयोगका कारण पढ्ने वातावरण राम्रो रहेकोले नजिकै मावि स्कुल भएपनि विद्यार्थी संख्या राम्रो रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गङ्गा थामी बताउनुहुन्छ ।
विद्यालयमा रहेका पाँच जना शिक्षक मध्य चार जना महिला रहनुभएको छ भने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि महिला नै हुनुहुन्छ । देउराली प्राविमा नीता फाउण्डेशन लगायतका संस्थाहरूले समेत बेला– बेलामा सहयोग गर्दै आएकोले पनि विद्यार्थीहरूलाई उत्साह मिल्ने गरेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गङ्गा थामी बताउनुहुन्छ ।

पछिल्लो पटक पत्रकार गोकर्ण भण्डारीको पहलमा नीता फाउण्डेशनले विद्यालयका सम्पूर्ण विद्यार्थीहरूको लागि स्कुल ब्याग र स्टेशनरी सामग्री उपलब्ध गराएको प्रधानाध्यापक पोत्रेलले बताउनुभयो । अधिकांश विपन्न समुदायको विद्यार्थी अध्ययन गर्ने भएकोले नीता फाउण्डेशनको सहयोग महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्