हुम्लाको मासपुरमा बर्थिङ सेन्टर सञ्चालन नहुँदा महिलाहरू घरमै सुत्केरी हुन बाध्य

हुम्ला । ताँजाकोट गाउँपालिका–३ स्थित मासपुर आधारभूत स्वास्थ्य सेवा केन्द्र जिल्लाकै दुर्गम स्वास्थ्य संस्थामध्ये एक मानिन्छ। स्थापना भएको लामो समय बितिसक्दा पनि स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको स्थानीयवासीको गुनासो छ। कार्यालय सहयोगीसहित तीन जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि अधिकांश समय एक जना स्वास्थ्यकर्मीले मात्रै सेवा दिइरहेको स्थानीय बताउँछन्।
२६ घरधुरी रहेको मासपुर गाउँका साथै नजिकै कुवाडी खोला पारिको बाजुराको बौडी गाउँका नागरिकहरू समेत औषधि उपचारका लागि यही स्वास्थ्य केन्द्रमा आउने गर्छन्। तर स्वास्थ्य संस्थामा प्रायः एक जना मात्रै स्वास्थ्यकर्मी भेटिने गरेको स्थानीयहरूको भनाइ छ।
सिप नेपाल र ट्रस नेपालको साझेदारीमा २०७४ सालमै स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर स्थापना गरी आवश्यक बेड, औषधि तथा उपकरण उपलब्ध गराइएको थियो। साथै अनमी करुणा कुँवरलाई पनि खटाइएको थियो। तर सरकारी स्वीकृति नपाउँदा बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको स्थानीयहरूको गुनासो छ। परिणामस्वरूप गाउँका महिलाहरू अझै पनि घरमै सुत्केरी हुन बाध्य छन्।
स्थानीय धनरुपा भण्डारीका अनुसार स्वास्थ्य संस्थामा स्वीपरको व्यवस्था समेत छैन भने बर्थिङ सेन्टर सञ्चालन नहुँदा गर्भवती महिलाले जोखिमपूर्ण अवस्थामा घरमै सुत्केरी गराउनुपरेको छ। “नवजात शिशु र आमाको ज्यान जोगाउन घरमै हुने सुत्केरीलाई शून्यमा झार्ने अभियान चलाइए पनि हाम्रो गाउँमा त्यो सम्भव हुन सकेको छैन,” उहाँले भन्नुभयो।
मासपुर गाउँ ताँजाकोट गाउँपालिकाको केन्द्रबाट झण्डै एक दिनको पैदल दूरीमा पर्ने भएकाले स्वास्थ्य सेवा लिन र संस्थागत सुत्केरी गराउन थप कठिनाइ हुने गरेको स्थानीयहरूको भनाइ छ।
स्वास्थ्य सेवा केन्द्रका प्रमुख पदम बुढाका अनुसार गर्भवती महिलाले कम्तीमा आठ पटक गर्भ जाँच गराउनुपर्ने व्यवस्था भए पनि मासपुरमा सामान्य रक्तचाप परीक्षण, आइरन चक्की वितरण तथा नियमित खोप सेवा मात्रै उपलब्ध छ। “गर्भवती महिलालाई आवश्यक दुईवटा खोप लगाउने गरेका छौँ र आइरन चक्की उपलब्ध गराउने गरेका छौँ,” उहाँले भन्नुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा गाउँका ६ जना महिला सुत्केरी भएका छन्। सबैले घरमै सुत्केरी गराएका थिए। आमाहरू सुरक्षित भए पनि एक नवजात शिशुको मृत्यु भएको उहाँले जानकारी दिनुभयो।
स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख डा.उमाकान्त तिवारीले ताँजाकोट गाउँपालिकामा घरमै सुत्केरी हुने संख्या जिल्लामै बढी रहेको स्वीकार गर्नुभयो। उहाँका अनुसार मासपुरजस्ता दुर्गम बस्तीमा स्वास्थ्य संस्थासम्म पहुँच कठिन भएकाले संस्थागत सुत्केरी बढाउन चुनौती रहेको छ। यद्यपि पछिल्लो समय यस्ता तथ्याङ्क स्थानीय तहले व्यवस्थापन गर्ने भएकाले विस्तृत विवरण आफूसँग नभएको उहाँले बताउनुभयो।
स्थानीय रामबहादुर बुढाका अनुसार स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन भए पनि मासपुरमा समस्या चेतनाभन्दा बढी सेवाको अभाव हो। “यहाँ नियमित सञ्चालन हुने बर्थिङ सेन्टर र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गरिनुपर्छ,” उहाँले भन्नुभयो।
ताँजाकोट गाउँपालिका–३ का वडा अध्यक्ष राजेन्द्रबहादुर शाहीले पनि मासपुरमा अझै घरमै सुत्केरी हुने गरेको स्वीकार गर्नुभयो। गाउँपालिका केन्द्रबाट निकै टाढा भएकाले समस्या भएको र बर्थिङ सेन्टर सञ्चालनका लागि निरन्तर पहल भइरहेको उहाँले बताउनुभयो।
उहाँका अनुसार परम्परागत तरिकाले सुत्केरी गराउँदा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्ने भएकाले संस्थागत सुत्केरी बढाउन आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गर्नुपर्ने देखिन्छ। भौगोलिक विकटता र बर्थिङ सेन्टर सञ्चालनको अनुमति नहुनु नै मुख्य समस्या रहेको उहाँको भनाइ छ।
अनमीको नियमित उपस्थितिमाथि प्रश्न
सिप नेपाल र ट्रस नेपालको सहयोगमा बर्थिङ सेन्टर निर्माणसँगै अनमीको व्यवस्था गरिए पनि उहाँ नियमित रूपमा उपस्थित नहुने गरेको स्थानीयहरूको आरोप छ। अनमी करुणा कुँवर ताँजाकोट गाउँपालिका–४ डोप्काकी बासिन्दा हुनुहुन्छ। स्थानीयका अनुसार विभिन्न कारण देखाउँदै उहाँ बेला–बेलामा अनुपस्थित रहने गर्नुभएको छ। यस विषयमा वडा अध्यक्ष शाहीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही स्वीकार्य नहुने बताउँदै आवश्यक निर्देशन दिने प्रतिक्रिया दिनुभयो।
महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सास्ती
मासपुर गाउँकी महिला स्वास्थ्य स्वयंसेविका धनरुपा भण्डारीले मासिक प्रतिवेदन बुझाउन र बैठकमा सहभागी हुन निकै कठिनाइ भोग्नुपरेको बताउनुभयो। स्वास्थ्य शाखा पुग्न पैदल हिँडेर एक दिन लाग्ने भएकाले नियमित रूपमा बैठकमा जान नसकिएको उहाँको भनाइ छ।
“जङ्गलको बाटो हुँदै करिब तीन घण्टा हिँडेपछि मैतार्ना पुगिन्छ। त्यहाँबाट गाउँपालिकासम्म पुग्न नियमित यातायात छैन। मोटरसाइकल रिजर्भ गर्दा करिब तीन हजार रुपैयाँ खर्च हुन्छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार मासिक बैठकका लागि एक दिन हिँडेर गाउँपालिका पुग्नुपर्ने, अर्को दिन बैठकमा सहभागी हुनुपर्ने र त्यसपछि मात्रै घर फर्कन सकिने भएकाले एउटा बैठकका लागि तीन दिन खर्च गर्नुपर्छ।
“काखमा एक वर्षको बच्चा बोकेर यात्रा गर्न झन् कठिन छ। प्रत्येक महिनाको विवरण लिएर आफैँ आउनुपर्ने बाध्यता छ। अनलाइनबाट प्रतिवेदन पठाउने व्यवस्था भए धेरै सहज हुन्थ्यो,” उहाँले गुनासो गर्नुभयो।
दुर्गम बस्ती मासपुरमा स्वास्थ्य पूर्वाधार, जनशक्ति र सेवाको अभावका कारण संस्थागत सुत्केरीको लक्ष्य अझै टाढा देखिएको छ। स्थानीयवासीहरूले बर्थिङ सेन्टर सञ्चालन, स्वास्थ्यकर्मीको नियमित उपस्थिति तथा सेवामा पहुँच विस्तारका लागि सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्।








प्रतिक्रिया राख्नुहोस्