तपाईँ सुन्दै हुनुहुन्छः

सीमावर्ती नरैनापुरमा लागुऔषध नियन्त्रणका लागि प्रशासनको विशेष प्रशिक्षण

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतसँग खुला सीमा जोडिएको नरैनापुर गाउँपालिकामा लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणलाई लक्षित गर्दै कर्मचारी र जनप्रतिनिधिहरुलाई विशेष प्रशिक्षण दिएको छ ।

सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध कारोबार र त्यसले सामाजिक क्षेत्रमा पारिरहेको असरलाई मध्यनजर गर्दै प्रशासनले निगरानी र सचेतनामूलक अभियानलाई तीव्र बनाएको जनाएको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले सहजीकरण गर्दै सीमावर्ती क्षेत्रमा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुले अझ बढी जिम्मेवार र चनाखो भएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले लागुऔषध नियन्त्रण केवल सुरक्षा निकायको मात्रै दायित्व नभई स्थानीय तह, कर्मचारी, जनप्रतिनिधि र समुदाय सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खुला सीमाका कारण नरैनापुर क्षेत्र संवेदनशील बन्दै गएको छ । लागुऔषध दुरुपयोग र ओसारपसार नियन्त्रणका लागि सबै पक्ष सजग हुन आवश्यक छ ।”

हालै नरैनापुर गाउँपालिकासँग सम्बन्धित एक कर्मचारी लागुऔषध ओसारपसारको घटनामा मुछिएको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले विशेष निगरानी र सचेतना स्वरुप उक्त कार्यक्रम आयोजना गरेको स्रोतले जनाएको छ । प्रशासनले यस घटनालाई गम्भीर रूपमा लिँदै सीमावर्ती क्षेत्रमा निगरानी बढाउने संकेत समेत दिएको छ ।

यद्यपि स्थानीयवासीहरुले भने प्रशिक्षण कार्यक्रम कर्मचारी र जनप्रतिनिधिमा मात्र सीमित नगरी सर्वसाधारण, विशेषगरी युवा वर्ग र सीमावर्ती समुदायमा पनि विस्तार गर्नुपर्ने माग गरेका छन् । उनीहरुले लागुऔषध दुव्र्यसनको जोखिम समुदायस्तरमै बढ्दै गएकाले जनचेतनामूलक अभियान गाउँ–गाउँसम्म पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।

स्थानीयका अनुसार नरैनापुर क्षेत्र खुला सीमा भएका कारण लामो समयदेखि विभिन्न किसिमका अवैध सामानको ओसारपसार हुने गरेको छ । पछिल्लो समय लागुऔषध कारोबार समेत यही सीमावर्ती नाकामार्फत हुने गरेको भन्दै सुरक्षा निगरानी अझ प्रभावकारी बनाउन उनीहरुले माग गरेका छन् ।

सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध चुनौती नियन्त्रण गर्न प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button