पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
काठमाडौँ, २९ वैशाखः सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीर्थ कूटनीतिमार्फत नेपालका मुख्य धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धन गरिने उल्लेख छ ।
धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने विषयलाई पनि नीति तथा कार्यक्रमले प्राथमिकताका साथ उल्लेख गरेको छ ।
समुदायद्वारा सञ्चालित घरबास (होमस्टे), स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन वृद्धिका लागि रोजगारी प्रवर्द्धन गरिने भएको छ ।
जीवित सङ्ग्रहालयको अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई ‘नेपाल होमस्टे’ ब्रान्डिङसहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिने भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्