बैतडीमा १६ हजारभन्दा बढी बालबालिकाको पोषण लेखाजोखा गरिँदै

बैतडी । बैतडीमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषण लेखाजोखा गर्ने कार्य भइरहेको छ ।
देशव्यापी अभियानअन्तर्गत जिल्लाका ८४ वटै वडामा बालबालिकाहरूको पोषण लेखाजोखा गर्ने कार्य भइरहेको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।
पोषणको स्थिति थाहा पाउनका लागि जिल्लाभरि स्वास्थ्यकर्मीहरुले बालबालिकाहरूको पोषण लेखाजोखा गरिरहेका उहाँले बताउनुभयो ।
यही वैशाख १५ गतेदेखि शुरु भएको अभियान अन्तर्गत अहिलेसम्म जिल्लामा ७ हजार ९६ जना बालबालिकाहरूको जाँच गरिएको खोप सुपरभाइजर निरीक्षक भट्टले बताउनुभयो । जाँच गरिएका मध्ये ४ सय ८ जना बालबालिकामा कुपोषण देखिएको छ । ७३ जनामा कडा शीघ्र कुपोषण देखिएको छ भने ३ सय ५५ जना मध्यम शीघ्र कुपोषण देखिएको छ ।
बैतडीमा १६ हजार ४ सय २७ जना बालबालिकाहरूको पोषण लेखाजोखा गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले बताउनुभयो । बालबालिकाहरूको पोषणको अवस्था जाँच गरेर कुपोषित बालबालिकाहरूलाई उपचारको दायरमा ल्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

बालबालिकाहरूको पाखुराको नाप, उचाइ र तौल परीक्षण गरेर पोषण स्थिति पत्ता लगाउने गरिएको खोप सुपरभाइजर निरीक्षक भट्टले बताउनुभयो । पाखुराको नाप लिँदा १ सय १५ मिलिमिटर भन्दा कम भएका बालबालिकाहरू कडा शीघ्र कुपोषणको सूचीमा पर्दछन् । यस्तै १ सय १५ मिलिमिटर भन्दा बढी र १ सय २५ मिलिमिटर भन्दा कम नाप भएका बालबालिकाहरूको मध्यम शीघ्र कुपोषणको सूचीमा पर्ने गरेका छन् ।
यस्तै बालबालिकाहरूको उचाइ अनुसारको तौल भए नभएको समेत जाँच गर्ने गरिएको छ । उचाइ अनुसारको तौल नभएका बालबालिकाहरूलाई कुपोषित बालबालिकाहरूको सूचीमा राख्ने गरिएको छ ।
बालबालिकाहरूको पोषणको अवस्था जाँच गरेर कुपोषित बालबालिकाहरूको व्यवस्थापनका लागि यो अभियान सञ्चालन गरिएको भट्टले बताउनुभयो । वैशाख ३० गतेसम्म सञ्चालन हुने अभियानपछि कुपोषित बालबालिकाहरूको संख्या यकिन हुने र त्यसपछि उनीहरूका लागि व्यवस्थापन कार्यक्रम सञ्चालन हुने भट्टले बताउनुभयो। अभियान अन्तर्गत बालबालिकाहरूका साथै सुनौलो हजार दिनका आमाहरूको पनि पोषणस्थितीका विषयमा लेखाजोखा गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्