‘१३ कि.मी. भर्टिकल रन २०२६’ मा पुरुषतर्फ श्रेष्ठ र महिलातर्फ सुनुवारलाई उपाधि
कास्की । पोखरामा आज (शनिबार) सम्पन्न भएको ‘१३ के भर्टिकल रन २०२६’ मा पुरुषतर्फ गौतम श्रेष्ठ र महिलातर्फ पदम कुमारी सुनुवार विजेता हुनुभएको छ । पोखरा महानगरपालिका–१३ स्थित बाझा पाटन, काँहुखोलामा रहेको श्री सत्य युवा सेवा समितिको आयोजनामा पोखरा १३ मा पहिलो पटक आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ श्रेष्ठ र महिला तर्फ सुनुवार विजेता हुन सफल हुनुभएको हो ।

पुरुषतर्फको प्रतिस्पर्धामा गौतम श्रेष्ठले ४८ मिनेट ४१ दशमलव ६ सेकेन्डमा उक्त दुरा पार गर्दा विजेता हुँदै उहाँले नगद रु. १३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यसैगरी महेन्द्रबहादुर बोगटी ४९ मिनेट ३२ सेकेन्डमा उक्त दुरी पार गर्दै द्वितीय हुँदै रु. ९ हजार प्राप्त गर्न सफल हुनुभयो भने अजय पाण्डे क्षेत्री ५१ मिनेट ५४ दशमलव ६ सेकेन्डमा पार गर्दै तृतीय हुँदै रु. ५ हजार पुरस्कार हात पार्नुभयो ।
महिलातर्फ पदम कुमारी सुनुवार प्रथम हुँदै रु. १३ हजार पुरस्कार जित्न सफल हुनुभयो। यमुना घर्ती मगर द्वितीय हुँदै रु. ९ हजार तथा बिपना रसाइली तृतीय हुँदै रु. ५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगिताका विजेताहरूलाई पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बराल, समितिका अध्यक्ष हितमान गुरुङ, सचिव महेश आचार्य लगायतले नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी अन्य धावकहरूलाई पनि ‘फिनिसर मेडल’ र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताले पोखरा–१३ क्षेत्रमा खेलकुद गतिविधिको प्रवर्द्धन गर्नुका साथै युवाहरूलाई स्वास्थ्य र खेलप्रति आकर्षित गर्न महत्त्वपूर्ण योगदान पुगेको आयोजक समितिको विश्वास रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्