तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्ण म्याराथनको छैटौँ संस्करण जेठ २० गते हुने

पोखरा । नेपालकै चर्चित अन्नपूर्ण आधार शिविर देखि घान्द्रुक सम्म सञ्चालन हुने “अन्नपूर्ण म्याराथन” को छैटौँ संस्करण आगामी जेठ २० गते आयोजना हुने भएको छ । हरेक वर्ष जुन ३ मा मनाइने अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर आयोजना हुँदै आएको उक्त प्रतियोगिताले साहसिक खेलकुदसँगै पर्वतीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ ।

४२.१९५ किलोमिटर दूरीको म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधार शिविर, देउराली, हिमालय, दोभान, सिनुवा, छोम्रोङ, किम्रोङखोला हुँदै घान्द्रुकमा पुगेर सम्पन्न हुनेछ । हिमाली भूगोल, दुर्गम पदमार्ग र अनुपम प्राकृतिक सौन्दर्यका कारण यो म्याराथन नेपालकै आकर्षक साहसिक खेल प्रतियोगितामध्ये एक मानिन्छ ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशी धावक, गण्डकी प्रदेशका उत्कृष्ट धावक, अन्नपूर्ण गाउँपालिकाभित्रका सहभागी तथा लगातार तीन संस्करणमा सहभागी महिला धावकलाई विशेष पुरस्कारको व्यवस्था गरिएको संयोजक गुरुङले जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button