नारायणी अस्पतालमा तीन वर्षदेखि मनोचिकित्सक नहुँदा बिरामी प्रभावित
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा विगत तीन वर्षदेखि मानसिक रोगका बिरामीको उपचार गर्ने मनोचिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू प्रभावित हुँदै आएका छन् ।

केन्द्रीय अस्पतालको मान्यता प्राप्त यस अस्पतालमा दैनिक २५ देखि ३० जनासम्म मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामी परामर्शका लागि आउने गरे पनि आवश्यक सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकृत डा. उदयनारायण सिंहका अनुसार यसअघि करारमा आएका एक जना मनोचिकित्सकले एक वर्ष सेवा दिएपछि फर्किएपछि पदपूर्ति हुन सकेको छैन । मनोचिकित्सकले मानसिक रोग, लागूऔषध दुरुपयोग, एचआइभी÷एड्सलगायत समस्याबाट पीडित बिरामीलाई परामर्श तथा उपचार सेवा प्रदान गर्दै आएका थिए ।
नारायणी अस्पतालमा आएका मानसिक रोगका बिरामीलाई हाल चिकित्सक अभावका कारण अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको छ ।
उता विराटनगर र भरतपुरका अस्पतालहरूमा चारभन्दा बढी मनोचिकित्सक कार्यरत भए पनि सोही स्तरको नारायणी अस्पतालमा एक जना पनि मनोचिकित्सक नहुनु विडम्बनापूर्ण रहेको सरोकारवालाहरू बताउँछन् ।
विशेष गरी तराई क्षेत्रमा मानसिक रोगका बिरामीको सख्या बढी भए पनि आवश्यक सेवा नपाउँदा अवस्था झन् जटिल बन्दै गएको छ ।
यसैबिच, अस्पतालमा डायलिसिस सेवा सञ्चालनमा रहे पनि नेफ्रोलोजिस्ट चिकित्सकको अभाव देखिएको छ । सूचना अधिकारी डा. सिंहका अनुसार करारमा कार्यरत एक जना नेफ्रोलोजिस्ट छ महिनाअघि सेवा अवधि सकिएपछि फर्किएका थिए र त्यसपछि पद खाली रहेको छ । हाल डायलिसिस सेवा फिजिसियनहरूको सहायतामा सञ्चालन भइरहेको छ ।
अस्पतालमा १५ वटा डायलिसिस मेसिन रहेका छन् र दैनिक करिब १०० जना बिरामीले सेवा लिइरहेका छन् ।
यद्यपि विशेषज्ञ चिकित्सकको अभावले सेवा प्रभावकारितामा कमी आएको बताइएको छ । अस्पताल प्रशासनले मनोचिकित्सक र नेफ्रोलोजिस्ट पदपूर्तिका लागि सम्बन्धित मन्त्रालय र विभागमा पटक–पटक पत्राचार गर्दै आएको भए पनि हालसम्म ठोस पहल नभएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्