तपाईँ सुन्दै हुनुहुन्छः

‘अनुसन्धानमुखी शिक्षा र प्रविधिमैत्री वातावरण निर्माणमा सरकारले सहयोग गर्छ’

काठमाडौँ । काठमाडौँ शिक्षा क्याम्पसको ३५औँ वार्षिकोत्सव सम्पन्न भएको छ । 

क्याम्पसले आफ्नो दीर्घ शैक्षिक यात्रामा हासिल गरेका उपलब्धिहरू, नवप्रवर्तनशील कार्यक्रम विस्तार तथा भौतिक पूर्वाधार विकासका महत्वपूर्ण उपलब्धिहरूलाई यस अवसरमा विशेष रूपमा उजागर गरिएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँले क्याम्पसले गुणस्तरीय शिक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै शिक्षा क्षेत्रको दिगो विकासका लागि यस्ता संस्थाहरूको भूमिका अझ सशक्त हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले नवीन सोच, अनुसन्धानमुखी शिक्षा र प्रविधिमैत्री वातावरण निर्माणमा क्याम्पसले अघि सारेका योजनाहरूलाई सफल बनाउन प्रदेश सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभयो। 

विशिष्ट अतिथि बागमती प्रदेश सरकारका उद्योग मन्त्री विन्दु श्रेष्ठले शिक्षा र उद्योगबिचको सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै सीपमूलक तथा रोजगारी उन्मुख शिक्षामा जोड दिन आग्रह गर्नुभयो। 

विशेष अतिथि प्रदेश सभा सदस्य माननीय पुकार महर्जन तथा माननीय यमुना देवी श्रेष्ठले क्याम्पसको निरन्तर प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त शैक्षिक केन्द्रका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले स्थानीय तह र शैक्षिक संस्थाबिचको सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाउँदै क्याम्पसले समाज रूपान्तरणमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

वडा नं १० का वडाध्यक्ष शिवकुमार महर्जन, वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुइँटेल तथा वडा नं. ८ का वडाध्यक्ष प्रल्हाद रिजालले पनि शुभकामना व्यक्त गर्दै क्याम्पसको समृद्धिका लागि सहकार्य जारी रहने बताउनुभयो। 

यसै अवसरमा विश्वविद्यालय अनुदान आयोगका सहायक निर्देशक श्री कपिल रिजालले आयोगले क्याम्पसलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले क्याम्पसले कार्यक्रम विस्तार, भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय प्रगति गरेको भन्दै आगामी दिनमा थप नवप्रवर्तनकारी योजनाहरू अघि बढाउन प्रोत्साहन दिनुभयो। 

कार्यक्रममा बानेश्वर क्याम्पसका क्याम्पस प्रमुख डा. घमानसिंह खड्का, पब्लिक क्याम्पस प्राध्यापक संघका महासचिव सन्तोष पण्डित लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। 

कार्यक्रमको सभापतित्व क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा. डा. माधव भट्टराईले गर्नुभएको थियो भने क्याम्पस प्रमुख शत्रुघ्नप्रसाद गुप्ताले शैक्षिक वर्ष २०८२/८३ मा क्याम्पसले गरेका प्रमुख गतिविधिहरूको विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य तथा समाजसेवी गौरी प्रसाद दवाडी, देवेन्द्र प्रधान, डा. कान्ता भट्टराई, संस्थापक प्राध्यापक डा. विनय कुसियत लगायत विभिन्न तहमा अध्यापनरत शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button