बैतडीको पाटनमा १० वटा विद्यालय नमुना विद्यालयमा छनोट

बैतडी । बैतडीको पाटन नगरपालिकाले “एक वडा–एक नमुना विद्यालय” कार्यक्रम अघि बढाएको छ । सोही अनुसार पाटन नगरपालिका १० वटा विद्यालयलाई नमुनाको रुपमा विकास गरिने नगरपालिकाले जनाएको छ ।
शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राख्दै प्रत्येक वडाबाट एक–एक वटा विद्यालय गरी १० वटा विद्यालयहरूलाई नमुनाको रुपमा छनोट गरिएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले जानकारी दिनुभयो ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पञ्चवर्षीय योजना निर्माण प्रक्रिया अघि बढाइएको सामाजिक विकास समिति संयोजक बिष्टले जानकारी दिनुभयो । यस कार्यक्रमका लागि नगरपालिकाले २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
विद्यालयहरूलाई नमुना रूपमा विकास गर्दै समग्र शिक्षण सिकाइ सुधार गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।
छनोटमा परेका विद्यालयहरूमा वडा नं. १ को सिद्धेश्वर मावि, वडा नं. २ को सिद्धनाथ मावि, वडा नं. ३ को सिगास मावि, वडा नं. ४ को भूमेश्वर मावि, वडा नं. ५ को त्रिपुरेश्वर मावि, वडा नं. ६ को कृष्ण मावि, वडा नं. ७ को उदयदेव मावि, वडा नं. ८ को जनता मावि, वडा नं. ९ को सोद्धेश्वर मावि र वडा नं. १० को कालिका मावि रहेका छन्।
नगरपालिकाले नमुना विद्यालयका रूपमा छनोट भएका संस्थाहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने मापदण्ड समेत सार्वजनिक गरेको छ । मापदण्डअनुसार शिशु कक्षा देखी नै सुधार गर्नुपर्ने विषय प्राथमिकतामा रहेका छन् ।
जसअनुसार विद्यालयहरूले विद्यालय सुधार योजना निर्माण गर्नुका साथै अघिल्लो शैक्षिक सत्रको स्व–मूल्याङ्कन र समीक्षा गरी नतिजा सार्वजनिक गर्नुपर्नेछ।
कक्षा १ देखि ५ सम्मका लागि आवश्यक शैक्षिक सामग्रीको सुनिश्चितता, शिक्षण सिकाइमा तथा ‘सिकाइ चौतारी’ को प्रयोग अनिवार्य गरिएको छ। साथै, ई–हाजिरी प्रणालीमार्फत शिक्षकहरूको उपस्थिति व्यवस्थापन, अध्यक्ष–प्रधानाध्यापक–शिक्षकबीच कार्यसम्पादन करार सम्झौता र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मापदण्डअनुसार स्व–मूल्याङ्कन गर्ने प्रावधान राखिएको छ।
यसका अतिरिक्त, प्रत्येक शिक्षकले शिक्षण सुधार योजना तयार गरी विद्यालयमा प्रदर्शन गर्नुपर्नेछ भने अभिभावक शिक्षा कार्यक्रम सञ्चालनलाई पनि प्राथमिकतामा राखिएको छ।
सामाजिक विकास समितिले यसअघि नै गुणस्तर सुधारका लागि नमुना विद्यालय विकास कार्यक्रमको तयारी थालेको थियो। नगरपालिकाले यो कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा विद्यालयहरूको समग्र शैक्षिक स्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ।








प्रतिक्रिया राख्नुहोस्