बुद्ध जयन्ती: पण्डितपुरदेखि रामग्राम स्तूपसम्म एक हजार साइकल र्याली
नवलपरासी (पश्चिम)।२५७०औँ बुद्ध जयन्तीको अवसरमा नवलपरासी (पश्चिम) मा पर्यटन प्रवर्द्धनका लागि पण्डितपुरदेखि रामग्राम स्तूपसम्म बृहत् साइकल र्याली आयोजना गरिएको छ। रामग्राम नगरपालिकाको आयोजनामा सम्पन्न उक्त र्यालीमा करिब एक हजार साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

बुद्धसँग प्रत्यक्ष सम्बन्ध जोडिएको ऐतिहासिक तथा धार्मिक स्थल रामग्राम स्तूपको प्रचार–प्रसार गर्ने उद्देश्यले फरक शैलीमा कार्यक्रम आयोजना गरिएको नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयो। उहाँका अनुसार परम्परागत कार्यक्रमभन्दा पृथक् ढङ्गले युवापुस्तालाई आकर्षित गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको हो।
“हामीले यसको विकास गर्न चाहिरहेका छौँ, तर नगरपालिकाले चाहेर पनि काम गर्न पाएको छैन। न लुम्बिनी विकास कोषले आफैँ काम गर्छ, न हामीलाई गर्न दिन्छ। वास्तवमै भन्ने हो भने उपेक्षा गरिएको हामीले महसुस गरेका छौँ,” नगरप्रमुख यादवको गुनासो छ।

र्याली पण्डितपुरबाट सुरु भई विभिन्न स्थान हुँदै रामग्राम स्तूपमा पुगेर समापन गरिएको थियो। कार्यक्रममार्फत बुद्धसँग सम्बन्धित ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह सक्रिय रहेको सन्देश दिइएको आयोजकको भनाइ छ।
रामग्राम स्तूपलाई बुद्धको एकमात्र अस्थिधातु रहेको स्थलका रूपमा चिनिन्छ, जसले यसको धार्मिक तथा पर्यटन महत्त्व झन् बढाएको छ। यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
साइकल यात्राको नेतृत्व रामग्राम निवासी स्थानीय साइकल राइडर विष्णु खड्काले गर्नुभएको थियो। उहाँका अनुसार युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

र्यालीमा स्थानीय, विद्यार्थी तथा विभिन्न संघ–संस्थाको सहभागिता रहेको थियो। रामग्राम नगरपालिका–१४ का अध्यक्ष ओमप्रकाश यादवले यस्तो साइकल र्यालीले रामग्रामको प्रचार–प्रसारमा फरक सन्देश दिएको उल्लेख गर्नुभयो।

स्थानीयवासी तथा सहभागीहरूले यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। पर्यटन प्रवर्द्धनसँगै स्वास्थ्य सचेतना र वातावरण संरक्षणको सन्देश पनि साइकल र्यालीमार्फत प्रवाह गरिएको आयोजकले जनाएको छ। नगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आए पनि लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको प्रचार–प्रसार र प्रवर्द्धनमा उपेक्षा गरेको स्थानीयको गुनासो छ।







प्रतिक्रिया राख्नुहोस्