तपाईँ सुन्दै हुनुहुन्छः

आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने आठपहरिया समुदायको माग

धनकुटा । धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आदिवासी जनजातिको सूचीमा समावेश गर्न सरकारसँग माग गरेको छन् । 

लामो समयदेखि उठाउँदै आएको यो माग सम्बोधन नभएको भन्दै समुदायले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् । मङ्गलवार धनकुटाको बिहीबारे हटियामा परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहित भेला भएका आठपहरियाहरूले र्‍याली निकाल्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्कामार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापन पत्र पठाएका छन् ।

आठपहरिया समुदायले आफ्नै भाषा, संस्कार, संस्कृति र पहिचान भए पनि आदिवासी जनजातिको रूपमा सूचीकृत नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । किराँत आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाका अनुसार २०५८ सालदेखि पटक–पटक माग राख्दा पनि हालसम्म कुनै ठोस सुनुवाइ भएको छैन । धनकुटा क्षेत्रमा करिब ६ हजारको सङ्ख्यामा रहेको यस समुदायले वर्षभरि विभिन्न परम्परागत चाडपर्व मनाउँदै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button