तपाईँ सुन्दै हुनुहुन्छः

घोषणामा मुक्ति, जीवनमा बन्धन: बाजुराका मुक्त हलियाको अधुरो यथार्थ

बाजुरा। नेपाल सरकारले हलिया प्रथा अन्त्यको घोषणा गरेको करिब १८ वर्ष पुगिसक्दा समेत बाजुराका मुक्त हलियाको जीवनमा अपेक्षित परिवर्तन आउन सकेको छैन।

वि.स. २०६५ भदौ २१ गते सरकारले सुदूरपश्चिमका नौ र कर्णाली प्रदेशका तीन जिल्ला गरी १२ जिल्लामा हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो। तर, पुनर्स्थापना प्रभावकारी नहुँदा अधिकांश मुक्त हलिया अझै पनि पुरानै बाध्यतामा बाँचिरहेका छन्। बुढिनन्दा नगरपालिका–१ का मुक्त हलिया मनबिर विकका अनुसार रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य सेवामा पहुँच नहुँदा जीवनयापन कठिन बनेको छ। 

“कागजमा मात्र मुक्ति भयो, व्यवहारमा त उही हो,” उहाँ भन्नुहुन्छ, “पुनर्स्थापना भनिए पनि केही परिवर्तन आएन, फेरि साहुकै हलो जोत्नुपरेको छ।”

 मनबिर जस्तै बुढिनन्दा नगरपालिकाका धेरै मुक्त हलिया अहिले पनि साहुको खेत जोत्न बाध्य छन् भने केही रोजगारीको खोजीमा भारत पलायन भएका छन्। बुढीनन्दा नगरपालिका–१, पिपलडाँलीका ८१ वर्षीय सगुन सार्कीले तीन पुस्तादेखि साहुको खेत जोत्दै आएको पीडा सुनाउनुभयो। १५ सदस्यीय उहाँको परिवार अझै पनि त्यही काममा निर्भर छ। 

“बाजेको पालादेखि साहुको खेतबारी जोत्दै आएका छौँ। काम गरेबापत बस्न एक कट्ठा जग्गा दिएका छन्, तर त्यो पनि हाम्रो नाममा छैन,” उहाँले भन्नुभयो।

मुक्त हलिया महासङ्घ बाजुराका अध्यक्ष लालवीर सार्कीका अनुसार मुक्तिको वास्तविक अर्थ तब मात्र पूरा हुन्छ, जब पुनर्स्थापना सँगै शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन र सामाजिक सशक्तीकरणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन्। बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाउँपालिकामा १ हजार ६ सय ३४ हलिया परिवार रहेका छन्। तीमध्ये १ हजार ४ सय ९३ परिवार प्रमाणीकरण भई १ हजार ३सय ६३ परिवारलाई पुनर्स्थापना प्याकेज उपलब्ध गराइएको जिल्ला मालपोत कार्यालयले जनाएको छ।

सरकारले पुनर्स्थापनाका लागि वर्गीकरणअनुसार ‘क’ वर्गका परिवारलाई जग्गा खरिद र घर निर्माणका लागि ५ लाख, ‘ख’ र ‘ग’ वर्गलाई ३ लाख २५ हजार तथा ‘घ’ वर्गलाई घर मर्मतका लागि १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको मालपोत कार्यालय बाजुराका प्रमुख जङ्गवीर सुनारले जानकारी दिनुभयो।

यथार्थमा, समस्या केवल गरिबीको होइन—अवसरको अभाव, कमजोर कार्यान्वयन र सामाजिक संरचनाको पनि हो।

साँझ पर्न लाग्दा मनबिर फेरि घर फर्किन्छन्। दिनभरको थकानसँगै एउटा प्रश्न पनि उनीसँगै आउँछ—
“यदि यही जीवन बिताउनु थियो भने मुक्ति घोषणा किन गरियो?”

बाजुराका मुक्त हलियाका लागि यो प्रश्न अझै अनुत्तरित छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button