तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा चालु आर्थिक वर्षमा ३ हजार बढी शल्यक्रिया

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढेको छ । शल्यक्रिया कक्ष र पोस्ट-अपरेटिभ बेड बढेसँगै शल्यक्रिया सेवा लिने बिरामीको संख्या पनि वृद्धि भएको हो । अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ र चालु आर्थिक वर्षको चैतसम्म शल्यक्रियाको संख्या उल्लेख्य रुपमा बढेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालमा कुल २ हजार २०७ वटा शल्यक्रिया गरिएको थियो । जसमा १ हजार ३०० वटा जटिल, ३८९ वटा मध्यम र ५१८ वटा सामान्य शल्यक्रिया रहेका थिए । त्यसैगरी, चालु आर्थिक वर्ष २०८२ को चैतसम्म आइपुग्दा शल्यक्रियाको संख्या बढेर ३ हजार १६७ पुगेको छ ।

यस अवधिमा १ हजार ४७६ वटा जटिल, ३३८ वटा मध्यम र १ हजार ३५३ वटा सामान्य शल्यक्रिया भइसकेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। निराजन सुवेदीले बताउनुभयो । तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको चैतसम्ममै शल्यक्रियाको कुल संख्या करिब ९६० ले वृद्धि भएको छ ।

विशेषगरी अस्पतालमा जटिल र सामान्य खालका शल्यक्रिया बढेका छन् । तर, मध्यम खालका शल्यक्रियामा भने केही कमी आएको देखिन्छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीका अनुसार गएको वैशाख २७ गतेदेखि नयाँ शल्यक्रिया कक्ष सञ्चालनमा आएको हो । ५ वटा शल्यक्रिया कक्षबाट बढाएर ७ वटा पुर्‍याइएको छ भने पोस्ट-अपरेटिभ बेड ६ बाट बढाएर १२ वटा पुर्‍याइएको थियो ।

‘शल्यक्रिया कक्ष र पोस्ट-अपरेटिभ बेड करिब दोब्बरले बढाएसँगै शल्यक्रिया सेवा पनि बढेको हो, डा. सुवेदीले भन्नुभयो–‘शल्यक्रियाका लागि बिरामीले पालो कुर्नुपर्ने अवस्थालाई घटाएका छौँ ।’ अहिले तीन ठाउँमा २८ वटा पोस्ट-अपरेटिभ बेड छन् । प्रसूति तथा स्त्रीरोग विभागमा १२, जनरलतर्फ ८ र अर्थोपेडिकतर्फ ८ गरी कुल २८ वटा पोस्ट-अपरेटिभ वेड रहेको उहाँले बताउनुभयो ।

पोस्ट-अपरेटिभ वार्डमा नर्सिङ जनशक्ति र शल्यक्रिया कक्षामा एसिस्टेन्ट एनेस्थिया चिकित्सकको अभाव भने अस्पताललाई कायमै छ । युरोलोजी र सर्जरी जनशक्ति पनि बिरामीको चापको तुलनामा कम छ । न्यूरोसर्जन नहुँदा सेवा नै बन्द छ । सिटिस्क्यान सेवा पनि बन्द छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button