तपाईँ सुन्दै हुनुहुन्छः

कृषि क्षेत्रमा दीर्घकालीन समाधान खोज्दै मन्त्री चौधरी, जैविक मल प्रयोगमा जोड

काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा दीर्घकालीन सुधार गर्न जैविक र प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । 

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा कृषि मन्त्री चौधरीले निरन्तर र अत्यधिक रासायनिक मलको प्रयोगका कारण खेतीयोग्य जमिनको माटोको उर्वराशक्ति घट्दै गएकाले जैविक र प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्नै पर्नेमा जोड दिनुभयो ।

मन्त्री चौधरीले कृषि क्षेत्रमा रहेका कमजोरी पहिचान गरी सुधारका उपाय लागू गर्ने, कृषि सामग्रीको आपूर्ति अवस्था, वितरण प्रक्रिया, कोल्ड स्टोरेज व्यवस्थापनलाई प्रभावकारी बनाउन तथ्याङ्कमा आधारित व्यवस्थापन र अध्ययन–अनुसन्धानमा आधारित नीति आवश्यक रहेको पनि बताउनुभयो ।

बैठकमा सांसदहरूले देशभरका खेतीयोग्य जमिनको माटो कमजोर हुँदै गएको गम्भीर अवस्थाबारे चिन्ता व्यक्त गर्नुहुँदै रैथाने बीउको संरक्षण तथा किसानलाई गुणस्तरीय बीउ–बिजको सहज वितरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

यस्तै सांसदहरूले किसान तथा राष्ट्रिय उत्पादनको हित विपरीत रहेका अन्तर्राष्ट्रिय सम्झौताहरूको पुनरावलोकन गरी आवश्यक परे खारेज गर्नुपर्ने, सहुलियतपूर्ण न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था, कृषि उत्पादनको निर्यातमा देखिएको असमानता तथा कालोबजारी नियन्त्रण गर्न नीतिगत सुधार सुनिश्चित गर्नुपर्ने लगायतका कृषि क्षेत्रका समसामयिक विषयहरूमा कृषि मन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य वृद्धि भएकाले यस वर्ष मल आयात चुनौतीपूर्ण रहेको र बजेट अभावको समस्यासमेत  देखिएको जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button