कास्कीमा सुरक्षा अभियान तीव्र, स्वीप अप्रेसनमा थप ६१ जना पक्राउ
कास्की । कास्की जिल्लामा लागू औषध बिक्री वितरण, समाजमा अशान्ति फैलाउने गतिविधि र गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ का क्रममा थप ६१ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयले बिहीबार राति ९ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पोखराका विभिन्न स्थानमा सञ्चालन गरेको अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार पोखरा महानगरपालिकाका विभिन्न वडामा विशेष निगरानी बढाइएको थियो । लेकसाइड र ड्यामसाइड क्षेत्रबाट सबैभन्दा धेरै २४ जना पक्राउ परेका छन् । मोहरियाटोल र गैह्रापाटन क्षेत्रबाट १४ जना तथा अन्य विभिन्न क्षेत्रबाट बाँकी व्यक्तिहरू पक्राउ परेका हुन् ।
प्रहरीले लागू औषध प्रयोग, सार्वजनिक स्थानमा होहल्ला, धम्की दिने तथा शंकास्पद गतिविधिमा संलग्न भएकाहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यसअघि पक्राउ परेका १२२ जनामध्ये केहीमाथि लागू औषध तथा सार्वजनिक हितविरुद्धका मुद्दामा अनुसन्धान भइरहेको छ भने केहीलाई जरिवाना र सम्झाइ–बुझाइपछि छाडिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले समाजमा शान्ति–सुरक्षा कायम गर्न अभियान निरन्तर जारी रहने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्