तपाईँ सुन्दै हुनुहुन्छः

स्क्रब टाइफसबाट जानकीमा एक महिलाको मृत्यु

बाँके। जानकी गाउँपालिकामा स्क्रब टाइफसका कारण एक महिलाको मृत्यु भएको छ। यस क्षेत्रमै पहिलोपटक देखिएको घटनाले ग्रामीण स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको संकेत गरेको छ।

गत चैत २८ गते मृत्यु भएकी ती महिला पाँच महिनादेखि बिरामी थिइन्। उपचारका लागि उनले स्थानीय स्वास्थ्य चौकी, निजी क्लिनिक र भारतको बहराइचसम्म पुग्दा पनि रोग पहिचान हुन सकेन। अन्ततः भेरी अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भए पनि उपचार ढिलो भइसकेको थियो।

स्वास्थ्यकर्मीका अनुसार यो रोगको उपचारका लागि आवश्यक औषधि सस्तो र सहजै उपलब्ध हुने भए पनि समयमै परीक्षण नहुँदा ज्यान गुम्नु परेको हो।

जानकी गाउँपालिका–५ बेलहारी स्वास्थ्य चौकीकी इन्चार्ज गंगा मरासिनीले गाउँपालिकामा अस्पताल सञ्चालनमा नआउनु र प्रयोगशाला सेवाको अभाव मुख्य समस्या भएको बताउनुभयो। “बिरामीहरू समयमै पहिचान नहुँदा अन्तिम अवस्थामा मात्रै ठूला अस्पताल पुग्छन्,” उहाँले भन्नुभयो।

प्रकोप अनुसन्धानका क्रममा भेरी अस्पतालका प्राविधिकको सहयोगमा मृतकका परिवार र स्थानीयहरूको रगत नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ।

स्वास्थ्य संयोजक दलबहादुर रानाले हाल एक वडामा मात्र प्रयोगशाला सेवा सीमित रहनु चिन्ताजनक भएको बताउँदै अन्य वडामा सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

स्थानीयवासीहरूले सामान्य जाँचको अभावमा ज्यान गुम्नु परेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले आधारभूत स्वास्थ्य सेवा विस्तारमा ध्यान दिन आग्रह गरेका छन्।

वडा नं. ५ का अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादवले घटनाप्रति दुःख व्यक्त गर्दै आधारभूत प्रयोगशाला सेवा विस्तार गर्ने विषयमा पहल सुरु गरिएको जानकारी दिनुभयो। उहाँले स्रोत, जनशक्ति र उपकरण व्यवस्थापन गरी स्वास्थ्य सेवा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय तहमा समयमै रोग पहिचान र उपचारको पहुँच सुनिश्चित गर्न नसकिए यस्ता घटना दोहोरिन सक्ने देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button