तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा प्राविधिक शिक्षामा महिलाको आकर्षण बढ्दो

बाँके।पछिल्लो समय नेपालमा प्राविधिक शिक्षाप्रति विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ। अध्ययनपछि छिटो रोजगारीको अवसर पाउने र सीप हासिल गर्न सकिने भएकाले यो शिक्षा लोकप्रिय बन्दै गएको हो।

बाँकेमा वि.सं. २०५३ सालदेखि सञ्चालनमा रहेको सुष्मा कोईराला मेमोरियल क्याम्पस यस क्षेत्रको अग्रणी प्राविधिक शिक्षालयका रूपमा स्थापित भएको छ। क्याम्पसका अनुसार देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू यहाँ अध्ययनका लागि आउने गरेका छन्।

क्याम्पस प्रशासन प्रमुख चन्दा शाहीका अनुसार दार्चुला, अछाम, बाजुरा, सुर्खेत, जाजरकोट, डडेलधुरा, जुम्ला लगायत ४० भन्दा बढी जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन्। विद्यार्थीको संख्या बढ्दै गएकाले आरक्षण व्यवस्था समेत गरिएको उहाँले बताउनुभयो।

नेपालगन्जमा आयोजित एचए तेस्रो वर्षका विद्यार्थीहरूको बिदाइ कार्यक्रममा क्याम्पस प्रमुख रञ्जन ढुंगानाले तीन दशकमा क्याम्पसले २ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरेको जानकारी दिनुभयो। तीमध्ये करिब ७० प्रतिशत सरकारी सेवामा कार्यरत रहेको उहाँले बताउनुभयो।

उहाँका अनुसार सुरुवाती चरणमा प्राविधिक शिक्षाप्रति रुचि कम भए पनि अहिले अवस्था परिवर्तन भएको छ। गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिमा जोड दिइएको पनि उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा खजुरा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख अर्जुन सुनारले प्राविधिक जनशक्ति देशका लागि महत्वपूर्ण भएको बताउनुभयो। भेरी प्राविधिक शिक्षालयका शिक्षक सन्जीव पूर्बेले स्वास्थ्य सेवा जिम्मेवारीपूर्ण र मानवीय सेवा भएकाले इमान्दारी आवश्यक रहेको उल्लेख गर्नुभयो।

क्याम्पस संयोजक ललिता बस्नेतले विद्यार्थीहरूलाई जिम्मेवार र सेवामुखी बन्न आग्रह गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।

एचए तेस्रो वर्षका सन्तोष मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। स्वागत मन्तव्य समिक्षा थापाले दिनुभएको थियो भने सञ्चालन दिपिका शाही, आयुश रेग्मी, दिपीका थारु र कैलाश न्यौपानेले गर्नुभएको थियो।

प्राविधिक शिक्षाप्रति बढ्दो आकर्षणले भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button