तपाईँ सुन्दै हुनुहुन्छः

हेमजा आलु महोत्सवमा पाँच करोडको कारोबार

कास्की । कास्कीको हेमजामा पाँच करोड बढीको कारोबार गर्दै १४औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ।

गत २७ चैतबाट सुरु भएको महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाखभन्दा बढीको आलु बिक्री भएको छ । 

महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी पाँच करोड बढीको कारोबार हुन सफल भएको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  त्यहाँ आलुको परिकारको एउटा स्टलका अलवा कृषितर्फ ३० तथा एक सय बढी व्यापारिक स्टल थिए । त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको पनि आयोजकको भनाई छ।

शनिबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहनुभएका पोखरा महानगरपालिका २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सव हेमजा तथा समग्र पोखरा क्षेत्रकै ब्रान्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको जनाउनुभयो ।

पोखरा महानगरले पर्यटनसँगै कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै प्रवक्ता तिम्सिनाले महोत्सवसँगै कृषिमा होमिन हौसला मिलेको भनाई राख्नुभयो । सबैको सद्प्रयासले महोत्सव सफल भएको बताउनुभयो ।

पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाँले आलु महोत्सवले निरन्तरता पाउनु खुसीको कुरा भएको सुनाउँदै हेमजालाई तरकारी साथै मौरी क्षेत्र बनाउन महानगर लागि परेको उल्लेख गर्नुभयो । महोत्सवका माध्यममार्फत बजारको पैसा कृषकको हातहातमा पुगेको उहाँको भनाई थियो ।

आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवाला सबैले जिम्मेवारी पुरा गरेका कारण महोत्सव सफल भएको उल्लेख गर्दै क्लबले सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

महोत्सव अन्तर्गत भएको रत्यौली गीत प्रतियोगितामा सहनशील दिदीबहिनी समूह प्रथम, कमलजौंसी आमा समूह द्वितीय, गौरीशंकर आमा समूह तृतीय तथा खुट्टेगौंडा लामाचौतारा आमा समूह र चापाघाट आमा समूह सान्त्वना गर्नुभयो ।

त्यसैगरी, कृषि झाँकी र्‍याली संघसंस्थातर्फ नेवा खलः पहिलो, मातृकेश्वर एकता भजन समूह दोस्रो, आराध्या भजन समूह तेस्रो भए । आमा समूहको कृषि झाँकीतर्फ चापाघाट आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो, लालीगुराँस आमा समूह तेस्रो, लक्ष्मी आमा समूह र तिब्रकोट आमा समूह क्रमशः सान्त्वना हुन सफल भएको जनाइएको छ।त्यस्तै नृत्यतर्फ जनकल्याण आमा समूहले उत्कृष्टता हासिल गर्दै खसी पुरस्कार जित्न सफल भयो।

महोत्सवमा शनिबार कलाकारहरू प्रकाश सपुत, प्रेमराज अधिकारी, नेत्र खड्का, सीता परियार, ममता तामाङलगायतका प्रस्तुति रहेका थिए ।

यसपालि हेमजामा आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छ्रे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बागलुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट मानिसहरू पुगेका थिए ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव गरिएको हो ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार रहेका थिए। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका दैनिक प्रस्तुति साथै विभिन्न कृषि उपज, बिउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button