ताप्लेजुङमा बर्डफ्लु संक्रमण हुन नदिन तीव्र सतर्कता

ताप्लेजुङ । कोशी प्रदेशको तराईका जिल्लामा बर्डफ्लु देखा पर्न थालेपछि ताप्लेजुङमा सतर्कता अपनाइन थालिएको छ ।
जिल्ला बाहिरबाट पक्षी तथा पक्षीजन्य सामग्री बिक्री वितरण गर्ने व्यवसायको अनुगमनलाई तीव्र परिएको हो । जिल्ला बाहिरबाट पक्षी तथा पक्षीजन्य बस्तु भित्रन नदिन जिल्लाको विभिन्न चेक पोइन्टमा सवारी निगरानी गर्न थालिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

ताप्लेजुङमा बर्डफ्लुको अवस्थालाई मध्यनजर गर्दै फुङलिङ बजारमा शनिबार १९ वटा फर्म तथा मासु पसलबाट नमुना सङ्कलन गरी स्क्रिनिङ परिक्षण समेत गरिएको थियो । जिल्ला बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण समितिको निर्देशनमा सङ्कलित नमुना परिक्षणमा कुनै किसिमको भाइरस फेला नपरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार सङ्कलन गरिएको नमुनाको एभियन इन्फ्लुएन्जा भाइरस एन्टिजेन परीक्षण गरिएको थियो । कोशीका तराईका जिल्लाहरू झापा,मोरङ र सुनसरीमा अनियन्त्रित तवरले फैलिएको बर्डफ्लु ताप्लेजुङमा भित्रन नदिन पक्षी र पक्षीजन्य वस्तु भित्रिने नदिन सुरक्षामा कडाइ गर्नु पर्ने सरोकारवाला निकायले जनाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्