तपाईँ सुन्दै हुनुहुन्छः

सूर्यनगर गोल्डकपको उपाधि अभिषेक चर्च रजहरलाई

नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्बर १६ स्थित सूर्यनगर रंगशालामा नव युवा क्लबको आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सम्पन्न १०औँ संस्करणको सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च रजहरले हात पारेको छ।

शुक्रबार सम्पन्न फाइनल खेलमा अभिषेक चर्च रजहरले वीरगंज युनाइटेड पर्सालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो। प्रतिस्पर्धात्मक खेलमा अभिषेकका विश्वास श्रेष्ठ (जर्सी नम्बर १७) ले पहिलो हाफको १८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

विजेता अभिषेक चर्च रजहरले नगद रु. ६ लाख ६६ हजार ६ सय ६६ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता वीरगंज युनाइटेड पर्साले नगद रु. ३ लाख ३३ हजार ३ सय ३३ सहित पुरस्कार पाएको छ।

फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका विश्वास श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो।

समापन समारोहमा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले सूर्यनगर गोल्डकपको संरक्षकत्व नगरपालिकाले लिएको उल्लेख गर्दै प्रतियोगितालाई आगामी दिनमा अझ व्यवस्थित र निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले खेलकुदको विकासमार्फत युवालाई सकारात्मक दिशातर्फ अग्रसर गराउने लक्ष्य रहेको पनि बताए।

समापनका अवसरमा आयोजक नव युवा क्लबले आफ्नो २४ वर्ष पूरा गरी २५ औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा वर्षोत्सव समेत मनाएको छ। २०७२ सालदेखि सूर्यनगर गोल्डकपको सुरुवात भएको वडा अध्यक्ष भीमकाजी गुरुङले जानकारी दिए।

क्लबको इतिहासअनुसार संस्थापक अध्यक्ष इन्द्र गुरुङ रहेका थिए। त्यसपछि तुलाराम गुरुङ, मीन बहादुर पु, नबन्धुराज पौडेल, लालु गुरुङ, भरत गुरुङ, कृष्ण प्रसाद सापकोटा, भीमकाजी गुरुङ, अमर बहादुर थापा मगर हुँदै हाल धन सिंह चितौरे अध्यक्ष रहेका छन्।

स्थानीय स्तरमै राष्ट्रियस्तरको प्रतिस्पर्धा झल्काउने यो प्रतियोगिताले खेलकुद क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले विश्वास लिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button