साग बेच्दै शिक्षा धान्दै : मुगुका बालबालिकाको संघर्षपूर्ण यात्रा

मुगु । कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका आसपासका गाउँहरू—कार्कीवाडा, भामवाडा, हेर्निकाँद, निगाले, ताल्च र चैनका बालबालिकाहरू आफ्नो पढाइको खर्च जुटाउन स्वयं संघर्षरत छन्।
घरको कमजोर आर्थिक अवस्थाका कारण उनीहरू बिहान, बेलुका तथा बिदाका दिनहरूमा गमगढी बजारमा हरियो सागपात, तरकारी तथा मौसमअनुसारका फलफूल बेच्ने गर्छन्। कतिपय विद्यार्थी विद्यालय पोशाकमै बजार पुगेर पढाइ र कमाइलाई सँगसँगै अघि बढाइरहेका छन्।
स्थानीय बालबालिकाहरूका अनुसार घरमा आम्दानीको भरपर्दो स्रोत नहुँदा कापी, किताब, पोशाकदेखि विद्यालय शुल्कसम्मको खर्च आफैं जुटाउन बाध्य छन्। एक विद्यार्थी भन्छन्, “पढ्न मन छ, तर पैसा छैन। त्यसैले बिहान–बेलुका साग बेचेर खर्च जुटाउँछु।”
पछिल्लो समय गमगढी बजारमा यस्ता बालबालिकाहरूको संख्या बढ्दै गएको देखिन्छ। गाउँबाट बोकेर ल्याइएका ताजा सागसब्जी स्थानीय उपभोक्तामाझ लोकप्रिय छन्, जसले उनीहरूलाई केही राहत मिलेको छ।
तर सानो उमेरमै कामको बोझ बढ्दा उनीहरूको अध्ययनमा असर पर्ने चिन्ता पनि बढ्दै गएको छ। शिक्षाविद्हरूले बालबालिकालाई श्रमभन्दा अध्ययनमा केन्द्रित गराउन राज्यले विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
स्थानीय सरकार तथा सम्बन्धित निकायले यस्ता विद्यार्थीका लागि छात्रवृत्ति, शैक्षिक सामग्री उपलब्ध गराउने र अभिभावकको आयआर्जन बढाउने कार्यक्रम ल्याउन सकेमा बालबालिकाको भविष्य अझ उज्यालो बन्ने अपेक्षा गरिएको छ।
आर्थिक अभावका बीच पनि आफ्नो भविष्य निर्माणका लागि संघर्ष गरिरहेका यी बालबालिकाहरूको कथा वास्तवमै प्रेरणादायी छ।








प्रतिक्रिया राख्नुहोस्