‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ को फाइनल भोलि
धनकुटा । धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ प्रतियोगिताको फाइनल बैशाख ५ गते तल्लो टुँडिखेलमा आयोजना हुने भएको छ । टिन्स क्रु डान्स ट्रेनिङ सेन्टरले शुक्रबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिँदै यसलाई ग्रामीण क्षेत्रमा लुकेका प्रतिभालाई राष्ट्रिय स्तरसम्म पु¥याउने अभियानका रूपमा अघि बढाइएको जनाएको छ ।

नृत्य र गायन विधामा हुने प्रतियोगितामा सहभागीहरूले आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर पाउनेछन् । कार्यक्रम केवल प्रतिस्पर्धामा सीमित नभई प्रतिभा विकास, अवसर सिर्जना, सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धनसँग पनि जोडिएको आयोजक संस्थाका कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनुभयो । यसले स्थानीय आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा गायनतर्फ प्रथम हुनेले ५ लाख रुपैयाँ नगद, सोही बराबरको जीवन बीमा, म्युजिक रेकर्डिङ अवसर, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने द्वितीय र तृतीयले क्रमशः १ लाख र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। नृत्यतर्फ दुई उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। १२ वर्ष मुनिका र सोभन्दा माथिका गरि दुई उमेर समूहमा विभाजन गरिएको हो । जहाँ प्रत्येक समूहका विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् ।
कोशी प्रदेशका १४ जिल्लाबाट करिब ६ सय जनाको सहभागितामध्ये छनोट भएर ३१ जना प्रतिभा फाइनलमा पुगेका छन् । जसमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धी रहेका छन् । पहाडी जिल्लामा बढ्दो सांस्कृतिक गतिविधिको बीचमा यस्तो कार्यक्रमले युवा पुस्तालाई सिर्जनात्मक दिशामा अघि बढाउने मात्र होइन, स्थानीय स्तरमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटा २०७३ मा पूर्वाञ्चल डान्सिङ्ग सुपरस्टार तथा २०७४, २०७६, २०७८, २०८० र २०८१ मा पूर्वाञ्चल गट ट्यालेन्ट प्रतियोगिता सम्पन्न गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्