भिरकोटमा भलिबलको उत्साह: उपाधि आँधिखोला पिस युथ क्लबको पोल्टामा

स्याङ्जा I स्याङ्जाको भिरकोट यतिबेला भलिबलमय बनेको छ ।
जहाँ लुब्दीखोला युवा परिवारको आयोजनामा सम्पन्न दोस्रो वडा कप भलिबल प्रतियोगिताले खेल प्रेमीलाई उत्साह र रोमाञ्चले भरिदियो । १४ टोलीबीच भएको कडा प्रतिस्पर्धामा आधिखोला पिस युथ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पोल्टामा पार्यो ।
फाइनलसम्मको यात्रामा दमदार खेल देखाएको लुब्दीखोला युवा क्लब उपविजेतामा सीमित रहँदा पतला देवी युवा क्लबले तेस्रो स्थान हात पार्यो । प्रतियोगिता भरि देखिएको प्रतिस्पर्धात्मक भावना र खेलाडीहरूको जोशले कार्यक्रमलाई अझ आकर्षक बनाएको थ्यो ।
उक्त कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व सांसद भागवत प्रकाश मल्लले खेलकुद विकाससँगै खेलाडीलाई आत्मनिर्भर बनाउने तर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले ग्रामीण भेगमा यस्ता प्रतियोगिताले लुकेका प्रतिभा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने धारणा राख्नुभयो ।
त्यसैगरी, भिरकोट नगरपालिकाका संस्थापक नगर प्रमुख छायाराम खनालले खेलकुदले युवालाई अनुशासन, सहकार्य र सकारात्मक सोचतर्फ डोर्याउने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै क्लबका अध्यक्ष कमल थापाले प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदप्रति आकर्षण बढाउनुका साथै युवाबीच आपसी सम्बन्ध अझ मजबुत बनाएको बताउनुभयो ।
उक्त प्रतियोगिता सम्पन्न गर्दै गर्दा आगामी दिनमा अझ बृहत् र स्तरीय प्रतियोगिता गर्ने आत्म विश्वास समेत थपिएको आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्