तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपुरथिमिमा हर्षोल्लासका साथ मनाईयोे सिन्दूर जात्रा

'बोडेमा विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा सुरु' 

भक्तपुर। मध्यपुरथिमीमा आज बिहान हर्षोल्लासका साथ ३२ खट सहितको सिन्दुरजात्रा अर्थात् सुथ: सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खट सहितको सिन्दूर जात्रा अति प्रसिद्ध जात्रा हो।

३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा भए पनि केही वर्षयता भने २६ खट मात्रै जात्रामा सहभागी हुने गरेका छन् ।

थिमिमा मात्र मनाइने सिन्दूर जात्रामा बिहान ७ बजे अगाडि नै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरू सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरि बिष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइएको छ ।

थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोलटोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ । 

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुरेजात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी  र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउदै एक अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानिय जात्रालुहरु रमाईलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो ।बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरू सहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचाले पछि बालकुमारीको जात्रा सुरु गरिन्छ ।

परम्परा अनुसार नै देवता लायकू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेश द्धारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा रहेको छ ।

अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैल: द्यो परिक्रमा गरि क्रमैसंग सुगां द्यो, क्वाछे द्यों मा पनि सिन्दूर खेल्दै परिक्रमा गराईन्छ भने बालकुमारीलाई बिभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका वासिन्दाले सिन्दूर खेल्दै यो जात्रा मनाउँछन् ।

एक अर्कामा सौहार्दपूर्ण रुपमा सिन्दूर दल्ने, छ्याप्ने र विभिन्न पेय पदार्थ पिउँदै नेवारी बाजाको तालसँगै नाच्दै रमाउँदै अति मनोरञ्जनका साथ यो जात्रा मनाउने गरिन्छ । जात्रा हेर्नका लागि बिभिन्न क्षेत्रबाट दर्शकको घुइँचो लाग्ने गर्दछ भने स्वदेशी तथा विदेशी पर्यटकको आगमन समेत उल्लेख्य रुपमा सहभागिता रहेको थियो । 

अहिले बोडेमा जिब्रो छेड्ने जात्रा सुरु भएको छ । विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यसवर्ष चौथो पटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनु हुने  भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button