नेपालगञ्जमा राष्ट्रिय झण्डा दिवस मनाइयो
नेपालगञ्ज । नेपालगञ्जमा राष्ट्रिय झण्डा दिवस मनाइएको छ । अन्तराल र बासको संयुक्त आयोजनामा बिपी चोकमा आयोजित कार्यक्रममा राष्ट्रिय झन्डाको महत्व, गरिमा र यसको संरक्षणबारे चर्चा गरिएको छ । कार्यक्रममा वक्ताहरूले झण्डा राष्ट्रको पहिचान, स्वाभिमान र एकताको प्रतीक भएको उल्लेख गर्दै यसको सम्मान र संरक्षण सबैको साझा दायित्व भएको बताएका थिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख उमा थापा मगर, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्व अध्यक्ष झलक गैरे, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, हरित अभियन्ता हेमन्तराज काफ्ले तथा कलेज अफ म्यानेजमेन्टकी क्याम्पस प्रमुख मुना हमाल चन्द लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरूले राष्ट्रिय झन्डाप्रति सम्मान प्रकट गर्नु प्रत्येक नागरिकको कर्तव्य भएकोमा जोड दिएका थिए । राष्ट्रिय झन्डाको दुरुपयोग बढेकोप्रति पनि चिन्ता ब्यक्त गरिएको छ ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले दिवस मनाउनुको उद्देश्यबारे प्रकाश पार्दै राष्ट्रिय झन्डाको ऐतिहासिक महत्व, यसको सन्देश र वर्तमान सन्दर्भमा यसको संरक्षणको आवश्यकताबारे धारणा राख्नुभएको थियो । उहाँले यस्ता कार्यक्रमले नागरिकमा देशप्रतिको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सहजीकरण बासका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएको थियो भने कार्यक्रमको समापन बासका अध्यक्ष शिवकुमार बर्माले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्