तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सञ्जालबाट प्रेरित किसान, ६ कठ्ठामा सुरु भएको स्ट्रबेरी खेती आकर्षणको केन्द्र

बाँके । बाँकेका किसानहरू परम्परागत धान–गहुँ खेतीबाट क्रमशः व्यावसायिक तथा उच्च आम्दानी दिने फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन्। पछिल्लो समय राम्रो बजार, आकर्षक मूल्य र आयआर्जनको सम्भावनाले किसानहरू नयाँ खेती प्रणालीतर्फ उन्मुख भएका हुन्।

गाभर नजिकै पर्ने च्यामा गाउँमा यतिबेला यस्तै परिवर्तनको सुन्दर उदाहरण देख्न सकिन्छ। स्थानीय किसान शारदा बस्नेतको परिवारले करिब ६ कठ्ठा आफ्नै जमिनमा गत वर्षदेखि स्ट्रबेरी खेती सुरु गरेपछि गाउँको दृश्य नै फेरिएको छ। परम्परागत खेती गरिँदै आएको जमिनमा गरिएको यो नयाँ प्रयोगले उत्साहजनक परिणाम दिएको बस्नेत परिवारको भनाइ छ ।

“पहिलो वर्ष नै राम्रो उत्पादन र बजार पाएपछि हामी निकै उत्साहित छौँ,” किसान शारदा बस्नेतले भन्नुभयो, “मेहनत धेरै लाग्छ, तर आम्दानी पनि राम्रो हुने देखिएको छ।”

यस क्षेत्रका लागि स्ट्रबेरी खेती नयाँ भएकाले च्यामा गाउँ अहिले आन्तरिक आकर्षणको केन्द्र बनेको छ। स्थानीयदेखि बाहिरी क्षेत्रका मानिसहरू ताजा स्ट्रबेरीको स्वाद लिन, फोटो तथा भिडियो खिच्न यहाँ पुग्ने गरेका छन्। तराईको समथर भूभाग भए पनि पछाडि देखिने हरिया पहाडले यस ठाउँलाई झनै रमणीय बनाएको छ।

पर्याप्त सिँचाइ सुविधा नहुँदा किसानहरूले मोटरको सहायताले पानी तानेर खेती गरिरहेका छन्। धान–गहुँको तुलनामा स्ट्रबेरी खेती बढी मेहनतिलो भए पनि यसको बजार राम्रो भएकाले उत्पादन खेर जाने चिन्ता कम रहेको किसानहरूको अनुभव छ।

सामाजिक सञ्जाल, विशेषगरी युट्युबबाट प्रेरणा लिएर सुरु गरिएको यो खेतीलाई बस्नेत दम्पतीले दाङका अनुभवी किसानसँग परामर्श गरी विस्तार गरेका हुन्। अहिले बाँकेको बैजनाथ, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा पनि स्ट्रबेरी खेती विस्तार हुँदै गएको छ।

किसान सर्पराज बस्नेतका अनुसार स्ट्रबेरी रोप्ने उपयुक्त समय कात्तिक–मङ्सिर हो भने माघदेखि चैत्र मसान्तसम्म फल पाक्ने गर्दछ। “गत वर्ष भारतबाट करिब चार लाख रुपैयाँ बराबरको बिरुवा ल्याएका थियौँ,” उहाँले भन्नुभयो, “यस वर्ष भने आफैँले करिब चार हजार बिरुवा उत्पादन गरेका छौँ, जुन झनै राम्रोसँग सप्रिएको छ।”

गत वर्ष करिब ७ क्विन्टल उत्पादन भएको स्ट्रबेरी यस वर्ष बेमौसमी वर्षाका कारण केही क्षति पुगे पनि किसानहरूको उत्साह भने घटेको छैन। च्यामा गाउँमा फस्टाउँदै गएको स्ट्रबेरी खेतीले बाँकेका किसानहरू नयाँ सम्भावना खोज्दै आधुनिक कृषि अभ्यासतर्फ अघि बढिरहेको स्पष्ट सङ्केत दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button