मुगुमा जौँ खेतीप्रति आकर्षण बढ्दै
मुगु। परम्परागत रूपमा उपेक्षित मानिँदै आएको जौँ बालीको महत्व पछिल्लो समय मुगु जिल्लामा बढ्न थालेको छ।
जलवायु परिवर्तन, खाद्य संकट र स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै किसानहरू फेरि जौँ खेतीतर्फ आकर्षित हुन थालेका छन्।

पहिले धान, गहुँ र मकैलाई प्राथमिकता दिने किसानहरू अहिले जौँ खेतीतर्फ फर्किन थालेका छन्। कम पानीमा उत्पादन हुने, चिसो हावापानीमा राम्रोसँग फस्टाउने तथा रोग–कीराको असर कम पर्ने भएकाले जौँ खेती सजिलो र भरपर्दो विकल्पका रूपमा देखिएको स्थानीय कृषकहरूको भनाइ छ।
छायाँनाथ रारा नगरपालिका र आसपासका गाउँहरूमा जौँ खेती विस्तार हुँदै गएको छ। स्थानीय किसानहरूका अनुसार जौँबाट बनाइने ढिँडो, सात्तु,, आलन, रोटी तथा पेय पदार्थहरू पोषिलो मात्र नभई पशु चौपाया लाई दाना र खोलेको रूपमा प्रयोग तथा मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुन्छन्। पछिल्लो समय बजारमा जौँबाट बनेका परिकारहरूको माग बढेसँगै यसको व्यापारिक सम्भावना पनि देखिएको छ।
छायाँनाथरारा नगरपालिका वडा न-५ ढुमका कृषक लाप्से बिकका अनुसार “पहिले जौँलाई खासै महत्व दिइँदैनथ्यो, तर अहिले उत्पादन सजिलो र स्वास्थ्यका हिसाबले राम्रो भएकाले हामीले फेरि यसको खेती बढाउन थालेका छौँ।” विशेष गरि सातुका लागि यश बालीको माग धेरै छ , बिकले भन्नूभयो ।
त्यस्तै, सोही नगरपालिका वडा न-३ माथितुमका कृषक प्रकाश भण्डारीका अनुसार, “जौँ खेतीमा लागत कम लाग्छ र उत्पादन राम्रो हुन्छ। बजारमा माग पनि बढ्दै गएकाले आम्दानीको राम्रो स्रोत बन्न थालेको छ।”
जौँमा प्रोटिन, फाइबर तथा विभिन्न भिटामिनहरू प्रशस्त पाइने भएकाले यसलाई “सुपर फुड” का रूपमा पनि लिन थालिएको छ। साथै, जैविक खेतीका लागि उपयुक्त बाली भएकाले मुगु जस्तो दुर्गम क्षेत्रमा यसको उत्पादन विस्तार गर्न सकिने सम्भावना रहेको छ।
स्थानीय तहले पनि जौँ खेती प्रवर्द्धनका लागि बीउ वितरण, तालिम तथा प्राविधिक सहयोग सम्बन्धि कुनै चासो नदेखाए को र यस खेतीलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि गर्ने योजना हाल कसैले नबनाएको स्थानीय कृषकहरूको गुनासो छ ।
यसरी, लामो समयसम्म अपहेलित बनेको जौँ बाली अहिले मुगुमा पुनः पहिचान पाउँदै आर्थिक तथा पोषण सुरक्षाको महत्वपूर्ण आधार बन्दै गएको देखिन्छ। हाल जौ खेती मुगु जिल्लाका सबै भेगमा गरिँदै आएको भए पनि लेकाली भेगमा बढी नै जौ उवा , फापर जस्ता अन्न बालीहरूको खेती गरिँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्