बैतडीसहित सुदूरपश्चिममा बिसुपर्व मनाउने तयारी तीव्र

बैतडी। बैतडीसहित सुदूरपश्चिम क्षेत्रमा यहाँको मौलिक पर्वका रूपमा मनाइने बिसुपर्वको चहलपहल बढ्दै गएको छ।
रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर गएकाको समेत यतिबेला घर फर्किएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ वर्ष अर्थात् बैशाख १ गतेको दिनलाई विशुपर्वका नामले धूमधामकासाथ मनाउने चलन रहेको छ ।
बिसुपर्वमा धार्मिक पूजाआजा सम्पन्न गरी नयाँ वर्षको दिन तितेपातीले नुहाएर मौलिक परिकार माडा, बटुक भातलगायतका खानेकुरा खाने चलन रही आएको छ ।
बिसुपर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रङ्गिन थालेका छन् । रोजगारीका लागि भारत पसेकाहरू धमाधम घर फर्किएका छन् । बैतडीको झुलाघाट नाकाबाट करिब पाँच हजारको सङ्ख्यामा नेपालीहरू स्वदेश फर्किएका छन् ।

यतिबेला घर फर्किनु भएकाहरू धेरै जसो असारमा खेतीपातीको काम सकेर फेरि भारततिरै फर्कने गरेका छन् ।
विशुपर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायमा एकआपसमा सिस्नु लगाएर रमाइलो गर्ने प्रचलन रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्