तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर नगरपालिका

नेपालगन्ज । वैदेशिक रोजगारीको अनुभव बोकेर स्वदेश फर्किएका युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कोहलपुर नगरपालिकाले उद्यमशीलतामुखी पहल थालेको छ । रोजगारीको खोजीमा विदेश पुगेका तर स्वदेशमै सम्भावना खोज्न चाहने २७ जना स्थानीयलाई लक्षित गर्दै पाँच दिने उद्यमशीलता विकास तालिम प्रदान गरिएको छ ।

कोहलपुर नगरपालिका अन्तर्गतको रोजगार सेवा केन्द्रले आयोजना गरेको उक्त तालिम आज सम्पन्न भएको हो । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई उत्पादनशील क्षेत्रमा जोड्ने लक्ष्यसहित तालिम प्रदान गरिएको रोजगार संयोजक आशिष बर्माले बताउनुभयो । तालिममा आप्रवासी श्रमिक संरक्षण सञ्जाल, बाँकेको सहकार्य तथा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको आर्थिक साझेदारी रहेको थियो ।

सहभागीहरूलाई व्यावसायिक योजना निर्माण, उपयुक्त व्यवसाय छनौट गर्ने विधि, सफल उद्यमीका व्यवहार तथा सीप, पेशागत दक्षता विकासलगायतका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो । आप्रवासी श्रमिक संरक्षण सञ्जाल, कोहलपुर नगर सञ्जालका अध्यक्ष खड्क बहादुर चन्दको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक अनिता बुढा क्षेत्री, रोजगार संयोजक बर्मा तथा रोजगार सहायक शिवा परियारको उपस्थिति रहेको थियो ।

तालिममा वरिष्ठ प्रशिक्षकहरू राज बहादुर चौधरी र टोपलाल विकले सहजीकरण गर्नुभएको थियो । साथै, सहभागीहरूलाई उद्यम सुरु गर्न आवश्यक वित्तीय पहुँचका विषयमा जानकारी गराउँदै बसोबास महिला बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक शोभा गुरुङले सहकारीमार्फत ऋण लगानी प्रक्रिया स्पष्ट पार्नुभयो । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घर्ती मगरले उद्योग दर्ता र आबद्धता प्रक्रियाबारे जानकारी दिनुभएको थियो भने कोहलपुर नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख वीर बहादुर विकले स्थानीय तहमा व्यवसाय दर्ता गर्ने प्रक्रियाबारे प्रशिक्षण दिनुभएको थियो ।

तालिमले सहभागीहरूमा उद्यमशीलता विकासप्रति आत्मविश्वास बढाएको बर्माले बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै अवसर सिर्जना गर्दै आर्थिक समृद्धितर्फ उन्मुख गराउने स्थानीय सरकारको प्रयासका रूपमा यस कार्यक्रमलाई हेरिएको पनि उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button