१३ फिट लामो विषालु राजगोमन सर्पको उद्धार

धनकुटा । धनकुटा नगरपालिका–३ र ६ को सिमाना कागते क्षेत्रबाट करिब १३ फिट लामो विषालु राजगोमन (किङ कोब्रा) सर्प उद्धार गरिएको छ ।
दुर्लभ रूपमा पहाडी क्षेत्रमा देखिने यो सर्पको उद्धारले स्थानीयमा त्राससँगै चासो समेत बढाएको छ । शनिबार धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाका सर्प उद्धारकर्मी प्रदीप श्रेष्ठले उक्त सर्प सुरक्षित रूपमा नियन्त्रणमा लिनुभएको हो। समुद्री सतहबाट करिब एक हजार तीन सय मिटर उचाइमा रहेको कागतेस्थित बोधप्रसाद वाग्लेको गोठमा यो सर्प तीन दिनदेखि बसिरहेको अवस्थामा फेला परेको थियो। स्थानीयवासीले खबर गरेपछि पुग्नुभएका श्रेष्ठले जोखिमपूर्ण परिस्थितिमा सर्पलाई नियन्त्रणमा लिनुभएका थियो।
उद्धार गरिएको राजगोमनलाई डिभिजन वन कार्यालय धनकुटासँग समन्वय गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थान (वन क्षेत्र) मा छोड्ने तयारी भइरहेको धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो। उद्धारकर्मी श्रेष्ठका अनुसार राजगोमन अत्यन्तै विषालु सर्प हो, जसको टोकाइले गम्भीर अवस्था निम्त्याउन सक्छ र तत्कालै ज्यानसमेत जान सक्ने जोखिम हुन्छ। “यो सर्प सामान्य अवस्थामा आफैँ आक्रमण गर्दैन, तर चलाएमा वा खतरा महसुस गरेमा आक्रामक बन्न सक्छ,” श्रेष्ठले भन्नुभयो।
विगत ९ वर्षदेखि सर्प उद्धारमा सक्रिय श्रेष्ठले पछिल्लो दुई वर्षमा धनकुटाको महालक्ष्मी, पाख्रीबासलगायत क्षेत्रबाट पाँच वटा राजगोमन सर्प नियन्त्रणमा लिएर जङ्गलमा सुरक्षित रूपमा छोडिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार जलवायु परिवर्तनका कारण पहाडी तथा चिसो क्षेत्रमा समेत यस्ता विषालु सर्पहरू देखिन थालेका छन्, जसले मानव बस्तीमा जोखिम बढाउन सक्ने सङ्केत गरेको छ।









प्रतिक्रिया राख्नुहोस्