धनकुटामा कोप्चे उत्सव हुने

धनकुटा । यही चैत ३० गतेबाट धनकुटामा ३ दिने चौथो कोप्चे उत्सव हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथिल्लो कोप्चे क्षेत्रको चहलपहल बढाउन नेपाली नयाँ वर्षको अवसर पारी उत्सव गर्न लागिएको हो ।
आयोजक कोप्चे पुनर्जागरण अभियानले शनिवार पत्रकार सम्मेलन गरी चैत ३० देखि वैशाख २ गतेसम्म स्थानीय बिहीबारे हटियामा उत्सव गर्न लागिएको जनाएको छ। मौलिक खेल, खानेकुरा संस्कृति, भेसभुसा, रहनसहन संरक्षण र प्रवर्धनका लागि उत्सव गर्न लागिएको आयोजक कोप्चे पुनर्जागरण अभियानका सचिव उज्ज्वल कर्माचार्यले जानकारी दिनुभयो ।
उत्सवमा स्थानीय नेवारी र आठपहरियाको मौलिक खाना परिवारसहितका २० वटा स्टल रहने छन्। त्यस्तै, नेवारी र आठपहरिया जातीको सांस्कृतिक नृत्य तथा सङ्गीत प्रस्तुत गर्नुका साथै नेपालका मौलिक बाघचाल खेल, दुना टपरी बन्ने प्रतियोगिता घुम्ने कुर्सी आदि मनोरञ्जनात्मक खेलहरू खेलाइने जनाइएको छ। यस्तै संस्कृति संरक्षण र पर्यटन विकासका लागि अन्तरक्रिया, स्थानीय हस्तकलाको प्रदर्शनी तथा बिक्री वितरण गरिने आयोजकले जनाएको छ। उत्सवमा नेपाल फोटो पत्रकार महासङ्घको सहकार्यमा धनकुटाका पुराना तस्बिर तथा सामग्रीको प्रदर्शन गरिने भएको छ ।
तीन दिनसम्म चल्ने उत्सवमा करिब १५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । कार्यक्रममा १३ लाख ३५ हजार आम्दानी र खर्च हुने आयोजकको अनुमान छ। उत्सवमा भक्तपुरको हाडीगाउँसँग सहकार्य सुरुवात गरिने हस्ताक्षर गरिने भएको छ। जसले सहयोग आदानप्रदानका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा रहेको छ।तीन दशक अघिसम्म धनकुटा मुख्य बजारको रूपमा रहेको कोप्चे क्षेत्र पछिल्लो समय सुनसान बन्दै गएपछि पुरानै चहलपहल फर्काउन भन्दै पुनर्जागरण अभियानले नयाँ वर्षको अवसरमा कोप्चे उत्सव गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्