नयाँ शैक्षिक सत्रको पठनपाठन बैशाख २१ गतेबाट
भक्तपुर । नयाँ शैक्षिक सत्र २०८३ को पठनपाठन बैशाख २१ गतेबाट औपचारिक रूपमा सुरु हुने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले नयाँ शैक्षिक सत्र अन्तर्गत भर्ना अभियान वैशाख १५ गतेबाट र पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्ने जनाएको छ ।
सरकारले वैशाख १५ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपनि भर्ना र पठनपाठन कहिलेबाट हुने भन्ने अन्योल भएपछि केन्द्रले बिहीबार सूचना निकालेर यस बारे स्पष्ट पारेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ सालको शैक्षिक सत्र बैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरिएको थियो ।
साथै चैत २३ गतेदेखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको छ ।
यसैअनुसार विद्यालयहरूलाई शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ ।
पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेबाट यो नियम लागु गरिएको हो ।
यसबीचमा शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण गर्न,वार्षिक कार्यतालिका तथा शैक्षणिक योजना तयार गर्न,विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्न,शिक्षकको पेसागत क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न र विद्यार्थीको सिकाइ उपलब्धि सुधार योजना तयार गर्न केन्द्रले बिद्यालयहरुलाई सूचित गरेको छ ।
परिवर्तित सन्दर्भमा शैक्षिक गतिविधि तय गर्न केन्द्रको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको निर्देशक डा. श्याम प्रसाद आचार्यले बताउनुभयो ।
उक्त सन्दर्भका आधारमा सबै स्थानीय तह र विद्यालयहरूलाई समन्वय र सहजीकरण गरिदिन शिक्षा मन्त्रालयले केन्द्रलाई परिपत्र गरेको थियो ।
उक्त कार्यक्रम तय गरी कार्यान्वयन गर्न सबै स्थानीय तह र विद्यालयहरूलाई केन्द्रले अनुरोध गरेको छ ।
यस अघि सामान्यतया हरेक वर्ष वैशाख दुई गतेबाट नयाँ शैक्षिक सत्रको सुरुवात हुने गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्