नेपालगञ्ज–गुलरिया सडकखण्डमा किरण नालामा थप पुल निर्माण सुरु
बाँके। नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत खजुरा र जानकी गाउँपालिकाको सीमामा पर्ने किरण नालामा थप पुल निर्माण कार्य सुरु गरिएको छ। चार लेन सडक सञ्चालनमा रहे पनि सो स्थानमा दुई लेनको मात्र पुल हुँदा सवारी चाप बढ्दै समस्या देखिएको थियो।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीका अनुसार सडक विस्तारसँगै पुल पनि थप गरिएको हो। सवारी दुर्घटना बढ्न थालेपछि नयाँ पुल निर्माण अघि बढाइएको उहाँले बताउनुभयो। “दुई वटा पुल सञ्चालनमा आएपछि चार लेन सडकमा आवागमन सहज र सुरक्षित हुन्छ,” उहाँले भन्नुभयो।
करिब ४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सुरु गरिएको पुलको हाल जग निर्माण कार्य भइरहेको छ। केही वर्षअघि बनेको पुरानो दुई लेन पुललाई यथावत राख्दै सोही स्थानमा अर्को दुई लेनको नयाँ पुल थप्न लागिएको हो।
आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको योजना कार्यालयले जनाएको छ। पुल निर्माणपछि सवारी चाप व्यवस्थापन हुनुका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, बर्दियाको बढैयाताल गाउँपालिकामा पर्ने चपला नालाको पुललाई पनि चार लेनमा विस्तार गर्ने योजना अघि बढाइएको छ।








प्रतिक्रिया राख्नुहोस्