अण्डा, चल्ला निर्यात गर्न नपाउँदा झापाका किसान मारमा
भद्रपुर, झापा । झापाको दमकमा बर्डफ्लू देखिएपछि दुई सातादेखि व्यवसायीहरूले कुखुरा, चल्ला र अण्डा निर्यात गर्न पाएका छैनन् । दुई साताका लागि निर्यात बन्द गरिए पनि अझैसम्म खुला नभएको व्यवसायीहरूको गुनासो छ ।
चैत २३ गते १५ दिन भइसकेको छ । व्यवसायीहरूले अझै पनि व्यवसायका लागि निर्यात खुल्ला नभएको बताएका छन् । बर्डफ्लू देखिएपछि सुरक्षाका लागि यहाँका चल्ला, अण्डा निर्यातमा प्रतिबन्ध लगाएको ब्रोइलर कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले बताउनुभयो ।
उहाँका अनुसार १५ दिनपछि खुला गर्ने भनिए पनि औपचारिक रुपमा व्यवसायीलाई जानकारी दिइएको छैन । अध्यक्ष निरौलाले प्रशासनले कोशी प्रदेशबाट चल्ला, अण्डा बाहिर लैजान नदिने निर्णय गरेको बताउनुभयो ।
बर्डफ्लू लागेपछि संसारभर खोर र वरपर सील गर्ने व्यवस्था भए पनि नेपालमा मुख्य राजमार्गमै हिँड्न नमिल्ने नियमले मारमा परेको व्यवसायीहरूको भनाइ छ । व्यवसायीहरूले निरोगिताको प्रमाणका आधारमा व्यापार गर्न पाउनुपर्ने बताएका छन् । बाटो नै बन्द भएपछि करोडौँको चल्ला, अण्डामा क्षति भइरहेको व्यवसायीहरूको गुनासो छ ।
झापामा ५० भन्दा बढी व्यवसायीहरूले लेयर्स र करिब ८ सय किसानले ब्रोइलर कुखुरा पालन गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्