बिस्केट जात्रालाई मर्यादित र व्यवस्थित बनाउन यसरी गरिंदैछ तैयारी

भक्तपुर । भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको बिस्केट (बिस्का) जात्रालाई मर्यादित र भव्य रुपमा सम्पन्न गर्न सरोकारवाला संघ संस्थाहरुबीच तीव्र रुपमा छलफल भइरहेको छ ।
जात्रा व्यवस्थित रूपमा सञ्चालन गर्न गुठी संस्थान शाखा कार्यालय भक्तपुरले धार्मिक विधिहरूलाई समेटेर औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न शान्ति सुरक्षाका उपाय सार्वजनिक गरेको छ ।
यसैगरी भक्तपुर नगरपालिकाले सरोकारवालाको बैठक राखेर ५ बुँदे निर्णय गरेको छ ।
गुठी संस्थान भक्तपुरबाट तयार पारेको कार्य तालिका अनुसार मिति चैत्र २७ गते दिउँसो ३ बजे भैरवनाथको रथ तानी जात्रा शुरु गर्ने र साँझ ६ः०० बजे सम्पन्न गर्न सम्बन्धित सबैले आ–आफ्नो जिम्मेवारीका पूजा–आजा, भजनलगायत सम्पूर्ण गतिविधि समयमै सम्पन्न गर्ने निर्णय भएको छ ।
चैत्र २७ गते र २०८३ बैशाख ५ गते भैरवनाथको रथ पूर्वमा सुकुल ढोका बुलबुल हिटीसम्म र पश्चिममा नासमनासम्म मात्र लान सम्पूर्ण जनसमुदायमा अनुरोध गरिने भएको छ ।
भक्तपुर नगरपालिकाबाट बिस्काजात्रा सम्बन्धी पर्चा वितरण गर्ने र शुभकामना र्याली गर्ने तैयारी भएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।
जात्रा अन्तर्गत चैत्र २६ गतेदेखि विशेष पूजाआजा र जात्राका प्रक्रियाहरू सुरु हुनेछन् । भक्तपुरमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जात्रा सञ्चालन र सुरक्षा सम्बन्धी सुरक्षा निकाय एव सरोकारवाला निकायसँगको बैठकले जात्रामा ढुङ्गा हान्ने र जात्रा बिथोल्न खोज्नेलाई कडा कारबाही गरिने निर्णय गरेको छ । जात्रास्थल आसपास क्षेत्रमा ३६ वटा सिसि क्यामेरा जडान गरि सञ्चालन गरिने र तीन वटा ड्रोन क्यामेराले समेत जात्राको निगरानी गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो ।
जात्रा अवधिभर शान्ति सुरक्षाका लागि आवश्यक प्रहरी परिचालन गर्ने, भक्तपुरका अस्पतालहरूलाई आपतकालिन उपचारका लागि तयारी अवस्थामा राखिने, जिल्लाका एम्बुलेन्सहरूलाई जात्रास्थल आसपासमा समेत तयारी अवस्थामा राखिने, दमकल तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।
जात्रा सञ्चालनका लागि रथ निर्माणदेखि आवश्यक तयारीसमेत गुठी कार्यालयले गरिरहेका गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिनुभयो ।
चैत २७ गते शुक्रबारदेखि सुरु हुने विश्व प्रसिद्ध जात्राको तयारी तीव्र गतिमा अघि बढेको छ । यसवर्षको बिस्का जात्रा ५ वैशाखसम्म सञ्चालन हुँदैछ ।








प्रतिक्रिया राख्नुहोस्