एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एमालेका महिला सांसदहरुले पछिल्लो समयमा किशोरीहरूमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ।
एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले भोटाहिटीस्थित सो ब्युरोमा लिखित उजुरी दिनुभएको हाे ।
सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटहरूमार्फत विशेष गरी साइबर बुलिङ, दुर्व्यवहार, अपमानजनक व्यवहार, घृणा र टीका टिप्पणीले किशोरीहरू मानसिक उत्पीडनको सिकार भएको उजुरीमा उल्लेख छ ।
त्यस्तो व्यवहारले उनीहरूको आत्मसम्मान, मानसिक स्वास्थ्य तथा सामाजिक सुरक्षामा गम्भीर असर पारेको उजुरीमा जनाइएको छ । यस्ता साइबर बुलिङसम्बन्धी उजुरीको छिटो र प्रभावकारी छानबिन तथा अनुसन्धान गर्न र पीडितलाई तत्काल सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरिएको छ ।रासस







प्रतिक्रिया राख्नुहोस्