तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा क्रिकेट कपको तेस्रो संस्करण चैत्र २१ गतेदेखि

बारा । बाराको सिमरामा आयोजना हुँदै आएको जीतपुरसिमरा क्रिकेट कपको तेस्रो संस्करण यस वर्ष अझै आकर्षक बन्ने भएको छ । 

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली जनकपुर बोल्टसले प्रतियोगितासँग सहकार्य गरेपछि प्रतियोगिताले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ । आयोजक जीतपुरसिमरा स्पोट्र्स क्लबले चैत २१ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिरहेको छ । यस पटक प्रतियोगितामा जनकपुर बोल्ट्सको सहभागिता मात्र नभई प्रत्यक्ष सहयोग पनि रहनेछ । टोलीले आयोजक क्लब तथा खेलाडीहरूका लागि जर्सी उपलब्ध गराएको छ । 

मङ्गलवार सिमरामा आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका संस्थापक उत्सव सिग्देलका पिता महेश सिग्देलले ले जर्सी हस्तान्तरण गर्दै नेपालको क्रिकेट विकासमा आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । हाल उत्सव सिग्देल युरोपमा सञ्चालन भइरहेको ईयू टी–२० लिगका कारण बेल्जियममा रहेका छन् । 

कार्यक्रममा सिग्देलले क्रिकेटले राष्ट्रिय एकता र पहिचान मजबुत बनाउने उल्लेख गर्दै भविष्यमा प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर सहयोग रहने बताए । उनले स्थानीय तहले आवश्यक जग्गा उपलब्ध गराए रङ्गशाला निर्माणमा समेत सहयोग गर्ने घोषणा गर्नुभयो । 

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले निजी क्षेत्रबाट आएको सहयोगले खेलकुद विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै मैदान व्यवस्थापन र क्रिकेट पूर्वाधारका विषयमा आवश्यक निर्णय लिने प्रतिबद्धता जनाउनुभयो । 

क्लबका अध्यक्ष सोमलाल बमजनले प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रतियोगितामा आयोजकसहित बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवनका टोलीहरूको सहभागिता रहनेछ । यस वर्ष पुरस्कार राशि पनि वृद्धि गरिएको छ । 

विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा उत्कृष्ट ब्याटर र बलरलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने प्रतियोगिताले यस क्षेत्रको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button