लुम्बिनीमा सडकआश्रितको उद्धारका लागि विशेष अभियान सुरु हुँदै
बाँके। सडकपेटी, खुला आकाशमुनि वा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका बेसहारा तथा सहयोगापेक्षी नागरिकहरूको उद्धारका लागि मानवसेवा आश्रम ले लुम्बिनी प्रदेशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ।
“सहयोगापेक्षी सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश” बनाउने लक्ष्यसहित सुरु हुने यो प्रदेशस्तरीय अभियान चैत १५ गतेदेखि चैत ३० गतेसम्म सञ्चालन गरिने आश्रमले जनाएको छ।
मानवता प्रवर्द्धन महाअभियान अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रममा सडकमा अलपत्र परेका, मानसिक रूपमा कमजोर, अशक्त वा अभिभावकविहीन अवस्थामा रहेका व्यक्तिहरूको खोजी, उद्धार, स्वास्थ्य अवस्थाको प्रारम्भिक अध्ययन तथा सुरक्षित आश्रयमा व्यवस्थापन गरिनेछ।
अभियान टोलीले लुम्बिनी प्रदेशका १२ जिल्लामा पुगेर तत्काल उद्धार सेवा प्रदान गर्ने तयारी गरेको छ। यस अन्तर्गत बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र रुपन्देही जिल्लामा रहेका सडकआश्रित नागरिकहरूको अवस्थाबारे प्रत्यक्ष अध्ययन गरिनेछ।
आश्रमका अनुसार अभियानको उद्देश्य केवल उद्धारमा सीमित नभई स्थानीय तह तथा सरोकारवाला निकायसँग सहकार्य विस्तार गरी दीर्घकालीन रूपमा सडकआश्रित मानवमुक्त प्रदेश निर्माण गर्नु पनि हो।
वि.सं. २०६९ सालदेखि सक्रिय मानवसेवा आश्रमले बेसहारा, अशक्त तथा मानसिक रूपमा अस्वस्थ व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनका लागि निरन्तर काम गर्दै आएको छ। हाल लुम्बिनी प्रदेशका विभिन्न केन्द्रमार्फत ३७५ जना आश्रितहरूले सेवा पाइरहेका छन्।
आश्रमका अनुसार रुपन्देहीको बुटवल केन्द्रमा ५५ जना, तिलोत्तमा केन्द्रमा १८० जना, दाङ शाखामा ६० जना र नेपालगञ्ज शाखामा ८० जना आश्रितहरूलाई संरक्षण दिइँदै आएको छ।प्रदेशस्तरीय उद्धार अभियान सरु अधिकारी को नेतृत्वमा सञ्चालन हुने जनाइएको छ।
यसैबीच, आश्रमले सर्वसाधारणलाई अपिल गर्दै सडकमा अलपत्र, सहयोगापेक्षी वा कष्टपूर्ण अवस्थामा रहेका व्यक्तिहरू देखिएमा नजिकको उद्धार टोली वा आश्रमलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ। समयमै प्राप्त हुने सूचना र सहकार्यले जोखिममा रहेका नागरिकहरूको जीवनरक्षा र पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्